
काठमाडौं । जिल्ला प्रशासन कार्यालयले तत्काल निषेधाज्ञा खोल्ने स्थिति नभएको जनाएको छ । असार १ गतदेखि लागू हुने गरी केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरेको काठमाडौं प्रशासनले तत्काल निषेधाज्ञा खोल्ने अवस्था नरहेको जनाएको हो ।
ईमेजखबरसँगको कुरकानीमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ को संक्रमणदर घटे पनि जोखिम उत्तिकै भएकाले निषेधाज्ञा तत्काल खोल्ने अवस्था नभएको बताउनुभयो । ‘नागरिकको स्वास्थ्य पहिलो कुरा हो,’ उहाँले भन्नुभयो, ‘नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेको तत्काल निषेधाज्ञा खुल्ने अवस्था छैन ।’
पराजुलीले सार्वजनिक यातायात सञ्चालनको सम्बन्धमा यातायात व्यवसायीसँग बसेर छलफल गर्ने बताउनुभयो । यातायात व्यवसायीहरूले निषेधाज्ञाका कारण बैंकको तिर्न सक्ने अवस्था नरहेकाले गाडीको चाबी बैंकलाई बुझाउने चेतावनी दिइसकेका छन् ।
कोभिड–१९ संक्रमण बढ्न थाले पछि उपत्यकामा निषेधाज्ञा जारी भएको ४७ दिन पुगिसकेको छ । पछिल्लो पटक असार १ गते देखि लागू हुने गरी निषेधाज्ञा ७ औं पटक थप गरिएको छ । निषेधाज्ञा केही खुकुलो बनाइए पनि सवारी साधन खुला गरिएको छैन । तर, राजधानीको सडकमा सवारी साधनको चाप देख्दा भने निषेधाज्ञा हटे झैँ महसुस हुन्छ ।
प्रतिक्रिया दिनुहोस्