
काठमाडौं । बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर वृद्धि भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसानहरु पनि अकार्षित भएका छन् ।
पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार मानिन्छ । बर्दियाका किसानहरू १ दशकअघिदेखि चैते धान खेती गरिरहेको भए पनि बाँकेका किसानले पहिलोपटक चैते धान फलाएका हुन् । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ अयोजनाकोे नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका हुन् ।
नहरमा बाह्रै महिना पानी आउन थालेपछि किसानहरूलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे । चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परीक्षण सफल भएले अर्को वर्षदेखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताउनुहुन्छ ।
यस्तै, कोहलपुर नगरपालिका–१५ चौधरिया गाँउका किसान ज्ञान बहादुर नेपालले पनि ११ कट्ठा जमिनमा चैते धान फलाउनुभयो । लामो समयदेखि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाइ हुने भन्दै चैते धानको खेती गरेको बताउनुहुन्छ ।
कृषि ज्ञान केन्द्र बाँकेले किसानलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो । कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले अर्को वर्ष थप किसानलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।
सिँचाइ सुविधा बढ्दै गएपछि बाँकेका कृषक उत्साही देखिएका छन् । जसले गर्दा कृषिबाट पलायन हुन लागेको जनशक्तिलाई रोक्न सहयोग पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्