
रोमन आचार्य
काठमाडौं । जिल्ला र स्थानीय तहमा देखिएको क्रियाशील सदस्यताको विवाद कांग्रेसको १४ औं महाधिवेशनका लागि टाउको दुखाइ बनेको छ ।
पार्टीले अन्तिमपटक भदौ १९ भित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका संसोधनको निर्णय गरे पनि तराईसहितका अन्य जिल्लाहरूमा विवादले त्राण पाएको छैन । असार २० गते क्रियाशील छानविन समितिले विवाद निरुपण गरेर सभापतिलाई विवरण बुझाउन सहज छैन ।
समय घर्कन लाग्दा क्रियाशील सदस्यताले टुंगो नपाउनुको मुख्य कारण संस्थापन र इतर पक्षको पौंठेजोरी हो । आफैँले बनाएको संगठन समायोजनको मापदण्डलाई बेवास्ता गर्दा कांग्रेसको आन्तरिक लोकतन्त्रक र पार्टी अस्तित्व संकटमा परेको छ ।
समायोजनको उल्झनमा रुमलिएको सिन्धुपाल्चोकमा बल्ल क्रियाशील फारम पुगेको छ । सप्तरीमा फारम त पुगे पनि जिल्ला सभापतिले इतर समूहलाई पेलेर आफू अनुकुल सदस्यता वितरण गरेको भन्दै सो समूह रुष्ट छ ।
सप्तरीका महासमिति सदस्य तेजुलाल चौधरीले समायोजन भइसके पनि संस्थापन पक्षले त्यसलाई नमानेको बताउनुहुन्छ । जिल्ला सभापतिले आफूनिकटकलाई विधान मिचेर क्रियाशील सदस्यता दिएको उहाँको आरोप छ ।
पार्टीले सोमबार मात्र थप ३३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । ती जिल्लाहरुको ६५ स्थानबाट सदस्यको विवरण केन्द्रमा दर्ता भएको छ । ७७ जिल्लाको २ सय ७ स्थानबाट दर्ता गर्नुपर्ने भए पनि सोमबारसम्म १ सय ६६ जिल्लाबाट मात्र सदस्यता इन्ट्री भएको छ । अन्य जिल्लाहरूमा विवाद कायमै छ ।
सर्लाहीका सभापतिले पार्टीको आधााकारिक व्यक्तिलाई नै परिवर्तन गरेर क्रियाशील सदस्यता दिएको नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण रायको आरोप छ । नियम र विधिका आधारमा दिइनुपर्ने क्रियाशील सदस्यता आफूनिकटकालाई मात्र सदस्यता दिएको उहाँको भनाइ छ ।
क्रियाशील छानविन समितिका अनुसार हालसम्म सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम, रौतहट लगायतका जिल्लाहरूमा विवाद छ । १० लाख क्रियाशील सदस्य पुर्याएर महाधिवेशन गर्ने भनेको कांग्रेसको हालसम्म ८ लाखभन्दा केही बढी सदस्य संख्या पुगेको छ । सदस्यहरूको संख्या बढाएर मात्र पनि सुख छैन ।
त्यसमाथि परेका उजुरीहरूमा छानविन समितिले किनारा लगाउनुपर्ने हुन्छ । त्यसका लागि समितिले बल्ल मापदण्ड बनाउने कसरत गरेको छ । उजुरी कस्ता परेका छन् भन्ने निर्क्याेल पनि समितिले गर्न सकेको छैन । त्यसैले असार २० भित्र क्रियाशील लफडा टुंगोमा पु¥याउन सहज देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्