१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बागलुङमा पहिरोका कारण तीन घर विस्थापित


0
Shares

डम्मर बुढा मगर

बागलुङ । निरन्तर वर्षाका कारण सडक भासिँदा बागलुङको काठेखोला गाउँपालिकामा तीन घर विस्थापित भएका छन् ।

काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक भासिदा गएको पहिरोका कारण तीन घर विस्थापित भएका हुन् ।

जिल्ला सदरमुकाम हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा सडक माथि र सडक मुनीका तीन घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

रेश जोड्ने कच्ची सडक भासिएर तीनवटा घर उच्च जोखिममा परेको र अहिले सडकमा निरन्तर पहिरो खसिरहेको हवारीले बताउनुभयो ।

सडक माथिका कृष्ण जिसी, बल बहादुर जिसी र सडक मुनीको चित्र बहादुर कार्कीको घर उच्च जोखिममा परेको छ ।

वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएको भन्दै विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको काठेखोला गाउँपालिकाका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

अहिले घटनास्थलमा प्रहरी समेत परिचालन भइसकेको छ । जिल्लाका अन्य स्थानमा समेड सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

वर्षा निरन्तर भइराखेको हुँदा संभावित जोखिमबाट बच्न प्रशासनले आग्रह गरेको छ ।