
काठमाडौं । निरन्तरको बर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ ।
मर्स्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेका छन् बाँकी घर पनि जोखिममा परेका छन् ।
स्थानीय घर छाडेर सुरक्षित ठाँउमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालगाउँ र चामे बजारका स्थानीय अहिले सुरक्षित ठाउँमा वस्तीको कुना क्षेत्र, पानी नभएको ठाउँमा बसेका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्तीमा पसेको हो ।
मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले उक्त क्षेत्रमा प्रहरी खटिसकेको बताउनु भयो । तालमा रहेको प्रहरी चौकीका टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेका छन् ।
उहाँका अनुसार गाउँसंगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ ।बर्षाका कारण चामेको नयाँबजार नजिकैको घट्टेखोला बढेर वस्तीभित्र बाढी पसेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डीएसपी होमनाथ पन्थीले जानकारी दिनुभयो ।
विभिन्न खोलाले बगाएका ठूला ढुंगाले मर्स्याङदी नदीको बहाव रोकिँदा मनाङको सदरमुकाम चामे समेत डुवानको जोखिममा परेको छ ।
चामेस्थित तातोपानी कुण्ड नदीले बगाएको छ भने पारी पट्टीका केही घरहरु डुब्न थालेका छन् । लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युतगृह, बेलिब्रिज र काठेपुल बगाएको डिएसपी पन्थीको भनाइ छ ।
सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको लघुजलविद्युत् गृह पनि बगाएको छ ।
प्रतिक्रिया दिनुहोस्