
सुजित भण्डारी
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाँउपालिका–२ को कार्यालयबाट हराएको ५३ लाख रुपैयाँको छानविन तथा अनुसन्धानमा ढिलाइ भएको भन्दै पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले चासो देखाउनु भएको छ ।
वडा कार्यालयमा राखिएको रकम हराएको २ महिना बितिसक्दा समेत प्रहरी प्रशासनले घटनाको तथ्य पत्ता लगाउन नसकेको भन्दै तामाङले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय नुवाकोटको ध्यानाकर्षण गराउनुभएको छ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकबाट झिकेर वडा कार्यालयमा राखिएको रकम हराएको थियो ।
सामाजिक सुरक्षा भत्ताको ५० लाख रुपैयाँ चोरी प्रकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानविन थालेको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा चोरी भएको थियो ।
चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखिएको सामाजिक सुरक्षा भत्ता बापतको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम नभएको उनको भनाइ छ ।
दराजमा कुनै पनि क्षति नपु¥याई रकम गायब भएकाले कार्यालयको सबै सूचना थाहा पाउने व्यक्तिले गायाब पारेको हुनसक्ने आशंका गरिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गठित उपसचिव मदन कोइराला र लेखा अधिकृत उमेश्वर काफ्लेको छानबिन टोलीले सोमबार उक्त वडा कार्यालय पुगेर कागजपत्र संकलन समेत गरेको छ ।
घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले घटना छानविनका क्रममा जनप्रतिनिधि र कर्मचारीको निगरानी गरिरहेको छ । यसअघि सोही गाउँपालिका–५ को सामाजिक सुरक्षाबापतको भत्ता हिनामिना भएको शंकामा अख्तियारमा उजुरी परेपछि वडा सचिवले गल्ती भएको भन्दै १० लाख फिर्ता गरेका थिए ।
घटनालगत्तै गाउँपालिकाको उजुरीपछि पक्राउ परेका वडा सचिव रावत, करारका सहायक सचिव रामकुमार गिरी र कार्यालय सहायक नीलप्रसाद मिश्र धरौटीमा रिहा भएका छन् । उनीहरूविरुद्ध प्रमाण नभएको भन्दै जिल्ला अदालत नुवाकोटले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्