२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


बाढी, पहिरो र डुवान व्यवस्थापनका लागि रहेको तीनवटै सुरक्षा निकाय तयार


0
Shares

काठमाडौं । मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुवान लगायतका विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरूले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपद्का घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका हुन् । पूर्वतयारी, उद्दार, पुर्नस्थापना तथा राहतको काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको उनीहरूको भनाइ छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले सेनाले विपद प्रतिकार्य योजना तयार पारेर काम सुरु गरिसकेको बताउनुभयो । विपद्को घटना घट्ने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । ७७ वटै जिल्लामा भएका गण तथा गुल्महरुबाट १ तिहाइको जनशक्ति फौजलाई विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी सशस्त्र प्रहरी बलले पनि विपतको प्रतिकार्य गर्न आफ्नो तयारी पुरा भएको जनाएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले पूर्व तयारीका सम्पूर्ण काम पूरा गरिसकेको जानकारी दिनुभयो । केन्द्रीय कार्यालयबाट परिपत्र गरेर सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको उहाँले बताउनुभयो ।

यसैगरी, नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले विपतको प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको बताउनुभयो । प्रहरीले केन्द्रका विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडी बढाइसकिएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा प्रहरीले सरोकारवाला निकायहरूसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो । मुख्य तथा सहायक राजमार्गहरुलाई अवरुद्ध हुन नदिन प्रहरीले ध्यान केन्द्रीत गरेको पनि प्रवक्ता कुँवरले बताउनुभयो ।