
पर्वत । पहिरोले अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुंगा सडक दुई दिन वितिसक्दा पनि खुल्न सकेको छैन ।
सोमवार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मंगलवार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा ठूलो पहिरो झरेर रोकिएको सडक वर्षा नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।
मंगलवार दिनभरी निरन्तर वर्षा भैरहेको र पहिरो झर्ने क्रम नरोकिँदा खुलाउन समस्या भएको प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।
मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले बैकल्पिक सडक प्रयोग गर्न थालिएको छ । सहस्रधारामा सडक बन्द भएपछि पाङ हुँदै खुर्कोट निस्किएर आवातजावन हुन थालेका हुन् ।
अहिलेपनि यस क्षेत्रमा भारी वर्षा भैरहेको छ । वर्षासँगै पहिरो पनि निरन्तर झरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार मालढुंगा–बेनी सडकमा पर्ने केरावारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अबरुद्ध भएको छ ।
प्रहरीले मंगलवार दिउँसो खुलाएको सडक साँझ फेरि पहिरो झरेर अबरुद्ध भएको अधिकारीले जानकारी दिनुभयो ।
यो सँगै जिल्लाका अन्य ग्रामीण सडक पनि अबरुद्ध छन् । हुवास–वालिङ सडक, फलेवास– रानीपानी सडक, लमाय– लुँखु सडक, पातीचौर– देउराली सडक पनि पहिरोले रोकिएका छन् । जलजला गाउँपालिकाका अधिकाँश सडक अबरुद्ध भएका छन् ।
सडक बन्द हुँदा एम्बुलेन्स, खाद्यन्न ढुवानी गर्ने सवारी, निर्माण सामाग्री बोकेका ट्रक बिच बाटोमा रोकिएका छन् ।
पहिरोका कारण भत्किएका र अबरुद्ध भएका सडकहरु खुलाउन वर्षाका कारण समस्या भैरहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्