
काठमाडौं । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १० बजेर ५० मिनेट जाँदा १० दशमलव ४६ मिटर पुगेको हो ।
त्यस समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताउनुभयो ।
उहाँकाअनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।
त्यही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । त्यस विन्दुको रेकर्ड गए राति तोडिएको उहाँले जानकारी दिनुभयो। सन् १९६३ देखि अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ ।
सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार चार सय ६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्