
प्रकाश लम्साल
बारा । प्रदेश दुई सरकारले पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको राजमार्गमा पर्ने पथलैयास्थित तीन विगाह क्षेत्रफलमा रहेको रित्तो संरचनामा सञ्चालन गर्ने भनिएको प्रदेशस्तरीय ट्रमा अस्पताल घोषणमै सीमित बन्न पुगेको छ । प्रदेश सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रममा दर्जनौं प्रदेश स्तरीय संरचनाहरूको घोषण गरे पनि कार्यान्वयन नहुँदा सबै आयोजना घोषणामै सीमित बन्न पुगेको हो ।
संघीय सरकारले गत वर्ष देशैभरका प्रदेश तथा प्रत्येक स्थानीय तहमा अस्पतालको शिल्यान्यास गर्नुपर्ने कार्यक्रमअन्तर्गत प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत एकै दिन बाराको झिटकैयामा सरुवा रोग अस्पताल शिल्यान्यास गर्नुभएको थियो । यस्तै पथलैयामा प्रदेशस्तरीय ट्रमा अस्पताल बनाउने स्थलगत अवलोकन गरी घोषणा गर्नुभएको थियो । उहाँले पथलैयाको रित्ताे भवन ट्रमा अस्पतालको लागि प्रदैशमै एक मात्र उपयुक्त स्थान भएको बताउनुभएको थियो ।
प्रदेश सरकारले ट्रमा अस्पताल सञ्चालन गर्न रित्ताे भवनहरूमा सामान्य मर्मत, रङ्गरोगन र उपकरणका लागि दुई करोड रकमसमेत विनियाेजन गरेको थियो । राजमार्गमा हुने दुर्घटनामा घाइतेले समयमै उपचार पाउने र धेरैको ज्यान जोगिने भन्दै यसअघि ट्रमा अस्पतालका लागि उक्त भवन संघीय सरकारकोसमेत प्राथमिकतामा परेको थियो ।
पूर्वपश्चिम राजमार्ग मध्ये सबैभन्दा धेरै सवारी दुर्घटना हुने भएकाले मृत्युमार्गले परिचित बाराको अमलेखगञ्जदेखि पथलैया हुँदै निजगढसम्मको २९ किलोमिटर सडकमा दैनिक सवारी दुर्घटनाबाट ज्यान जाने गरेकाे प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तालिम केन्द्रकाे रूपमा रहेकाे तीन वटा प्रयोगविहीन भवनमा ७२ वटा कोठा, छात्रवास, तीन तालिम हल, खुला स्थान फुलबारी र कम्पाउण्ड वालले घेरिएको व्यवस्थित भवन वर्षाैंदेखि प्रयोगविहीन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्