
ईन्द्र गिरी
संखुवासभा । निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक गम्भीर घाइते भएका छन् ।
जिल्लाको चिचिला–३ स्थित पुखुवा भीरबाट बा ५ ख १४० नम्बरको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिकाका २२ वर्षीय दीपेश भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढुङ्गा अनलोड गर्ने क्रममा पछाडी सार्दा टिपर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीको बगरमा झरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले बताउनुभयो ।
सहचालक काभ्रेपलाञ्चोक भकुन्डेबेसीका २० वर्षीय नवराज श्रेष्ठ गम्भीर घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको छ, भने बायाँ हात भाँचिएको छ । जिल्लामा उपचार हुन नसकेपछि उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
मृतक भट्टराई र गम्भीर घाईते श्रेष्ठ अरुण तेस्रोको विद्युत् गृहस्थलमा पाथिभरा कन्स्ट्रक्सनमा कार्यरत मजदुर हुन् ।
प्रतिक्रिया दिनुहोस्