१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तीन महिनामा सबैलाई खोप लगाउने सरकारी घोषणा फेल, राष्ट्रपतिको कुटनीतिले पनि काम गरेन


0
Shares

मिरा बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकअनुसार हालसम्म २५ लाख नेपालीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । तर, पहिलो डोज लगाएका मध्ये ७ लाखले मात्र दोस्रो डोज लगाउने मौका पाएका छन् ।

पहिलो डोज खोप लगाएकाले नै दोस्रो डोज खोप नपाइरहेको अवस्थामा खोप लगाउन बाँकी नागरिकहरूले तत्काल खोप नपाउने निश्चितप्रायः छ । गत माघमा कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओेलीको घोषणा फेल खाएको छ ।

कुल जनसंख्याको ७२ प्रतिशतलाई पूर्ण खोप लगाउने सरकारको लक्ष्य थियो । तर, खोप अभियान सुरु भएको ६ महिना बितिसक्दा कुल जनसंख्याको १० प्रतिशतले मात्र खोप पाए भने २ दशमलव ३३ प्रतिशतलाई मात्र पूर्णरूपमा खोप दिन सरकार सक्षम भयो । भारतबाट १० लाख डोज खोप अनुदानमा आएपछि सरकारले निकै तामझामका साथ अभियान सुरु गरेको थियो ।

हालसम्म नेपालमा भारतबाट १० लाख, चीनबाट १८ लाख , कोभ्याक्स र नेपाली सेनालाई सहयोग प्राप्त भएको ४ लाख ४८ हजार र सरकारले आफैँ खरिद गरेको १० लाख गरी कुल ४० लाख ४८ हजार डोज खोप भित्राएको छ । नेपालसँग अब करिब ९ लाखको हाराहारीमा खोप बाँकी छ । जुन पहिलो डोज खोप लगाएकालाई दिन नै प्रयाप्त छैन ।

पहिलो चरणमा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरेको सरकारले दोस्रो चरणमा पनि ६० देखि ६४ वर्षको उमेर समूहलाई नै प्राथमिकता दियो । बाँकी १८ वर्ष माथिकाले भने खोप लगाउन पाउने नपाउने अझै अन्योल छ । कार्ययोजना बनाए पनि खोप विषय आफ्नो हातमा नभएकाले कहिले लगाउन पाइन्छ भन्ने अवस्थामा आफूहरू नभएको स्वास्थ्य मन्त्रालय बताउँछ । खोप नआएसम्म दोस्रो डोज लगाउन नपाउने अवस्था नभएको मन्त्रायलका प्रवक्ता डा.समीरकुमार अधिकारीको भनाइ छ ।

कोरोनाले आक्रान्त बनेका विभिन्न मुलुकहरू यसको दलदलबाट बाहिर निस्किसक्दा नेपाल भने बाह्य राष्ट्रहरूसँग खोपका लागि अपिल गरिरहेको छ । अनुदानमा प्राप्त खोपले खोप अभियान चलाइरहेको सरकारले आफैँ खोप खरिद गर्ने बताए पनि अझै खरिद गर्न सकेको छैन । आफूहरूले खोप उत्पादन गर्ने राष्ट्रहरूसँग कुरा भइरहेको बताउँदै सहप्रवक्ता डा. अधिकारी, खोप उत्पादन नै कम भएकाले आपूर्ति हुनसक्ने अवस्था नभएको बताउनुहुन्छ । सरकारले माघदेखि नै खोप किन्नका लागि प्रयास गरे पनि उपलब्धी हासिल गर्न नसकेको उहाँको स्वीरोक्ति छ ।

सरकारले खोपको लागि कूटनीतिक पहल गरिरहेको जनाउँदै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नै विभिन्न देशका राष्ट्र प्रमुखहरूलाई पत्र लेखेर खोपको लागि आग्रह गरे पनि त्यसको सोचेजस्तो सकारात्मक परिणाम आउन सकेको छैन ।