
एजेन्सी । युरोकप अन्तर्गत समूह ‘सी’ अन्तर्गतको खेलमा युक्रेनले म्यासेडोनियालाई २–१ गोलले पराजित गरेको छ ।
रोमानियाको अरेना बुचारेस्टमा भएको खेलमा म्यासेडोनियालाई १ गोलमा सीमित गर्दै युक्रेनले महत्त्वपूर्ण तीन अंक जोडेको हो ।
युक्रेनको जितका लागि एन्ड्री यारमोलेन्को र रोमन यारेम्चुकले गोल गर्दा म्यासेडोनियाका एज्जान एलिओस्कीले सात्वना गोल फर्काए । खेलको २९ औं मिनेटमा यारमोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाउँदा यारेम्चुकले अग्रतालाई दोब्बर बनाए ।
पहिलो हाफमा २–० गोलले युक्रेन अगाडि रहँदा दोस्रो हाफको ५७औं मिनेटमा एलिओस्कीले गोल गरे । पेनाल्टी प्रहारबाट रिबाउन्ड भएको बलमा उनले गोल गरेका थिए ।
खेलको ८२औं मिनेटमा युक्रेनले पेनाल्टी पाए पनि रुस्लान मलिनोभस्कीले त्यसलाई गोलमा परिण गर्न सकेनन् । दुई खेलमा पहिलो जित निकालेको युक्रेन समूह ‘सी’मा अंकतालिकाको तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्