१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम सरकारले ल्याएको बजेटप्रति सत्ता पक्ष र विपक्षी असन्तुष्ट, कनिका छरे झै बजेट छरेको आरोप


0
Shares

विराज रोस्यारा
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सरकारले ल्याएको बजेटलाई विपक्षी दलले कनिका छरे झैँ बजेट आएको प्रतिक्रिया दिएका छन् । उद्योग, व्यवसायीले व्यवसायीमैत्री बजेट नआएको भन्दै असन्तुष्टी जनाएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि चालू आर्थिक वर्षभन्दा झण्डै ३ अर्ब बजेट घटाएर ल्याएको छ ।

चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो । आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन् ।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखे पनि पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ ।

बजेटमा पूर्वाधार विकासतर्फ बाजुराको कर्णाली नदीमा बेलिब्रिज निर्माण, १५ हजारलाई शुद्ध खानेपानीको पहुँच, १४ वटा पक्की पुल निर्माण र ४ सय ३८ किलोमिटर सडक निर्माण गर्ने योजना छ ।

बजेटमा कोभिड–१९ लगायतका महामारी संक्रमणको रोकथाम र उपचार व्यवस्थापनका लागि ९० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विपक्षी दलले भने प्रदेश सरकारको बजेट कनिका छरेझैँ आएको प्रतिक्रिया दिएको छ । दीर्घकालीन योजनाका लागि भन्दा पनि टुक्रे योजनामा बजेट बढी भएको विपक्षी दलको भनाइ छ ।

उद्योगी व्यवसायीहरुले पनि आफ्नो पक्षमा बजेट नआएको भन्दै असन्तुष्टि जनाएका छन् । महामारीका बेला उद्योगी व्यवसायी मारमा परे पनि प्रदेश सरकारले व्यवसायीको हितमा बजेट नल्याएको आरोप कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगाउनु भएके छ ।

गत वर्ष बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेसले रातो किताब समेत जलाएको थियो । अहिले नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाइसकेको छ ।

प्रदेशसभामा २ जना जसपा र ७ जना ओली समुहका प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा असन्तुष्टि जनाएका थिए ।(भिडियो हेर्नुहोस्)