
डोलराज रानाभाट
चितवन । वर्षमा ६ महिनाभन्दा बढी समय अनिकालको जीवन गुजारिरहेका चेपाङहरुले थोरै भएपनि राहतको महसुस गर्न थालेका छन् ।
इमेज च्यानलमा चेपाङबस्तीमा भोकमरीे रिपोर्ट सार्वजनिक भएपछि गिट्ठा, भ्याकुर खान बाध्य उनीहरुले खाद्यान्न पाउन थालेका हुन । अहिले सरकारी पक्षबाहेक अन्य विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गरेपछि उनीहरुको दैनिकी केही सहज भएको हो ।
चितवन जिङलाउका सूर्खबहादुर चेपाङको चुलोमा अहिले बल्ल चामलको भात पाक्न सुरु भएको छ । खाद्यन्न सकिएर अनिकालमा गिट्ठा खुर्किरहेको विदारक दृश्य सहितको पीडालाई समावेश गरेर इमेज च्यानलमा रिपोर्ट प्रसारण भएपछि सहयोगीमनहरुले चेपाङ बस्तीमा राहत पठाउन थालेको अभियान्ता केपी किरण शर्माले बताउनुभयो ।
सरकारले बजेट सार्वजनिक गरिरहदा यहाँका चेपाङहरु भने भोकमरी लागेको र अन्न सकिएर गिट्ठा खाँदा जिव्रो नै वाक्लो भएको पीडा पोखिरहेका थिए ।
बजेटमा चेपाङहरु प्राथमिकतामा पर्नु त परकै कुरा । न स्थानीय सरकार त्यहाँ पुगे न अन्य तहका सरकारी निकाय नै ? तर नेपाल पत्रकार महासंघ इमेज च्यानलको समन्वयमा संखुवासभा मकालु टाँसी गाउँका आङ्डि शेर्पा र हेल्प नामक गैरसरकारी संस्थालगायत मनकारी संस्था र व्यक्तिहरुले भने स्वस्फूर्त चेपाङहरुको पीडालाई मत्थर गर्ने काम गरीदिएका छन् ।
खाद्यान्न पुगेपछि अहिले चेपाङको चुल्हो बल्न थालेको छ । यहि राहतले अव मकै पाक्ने समयसम्म पुर्याउने योजना चेपाङहरुको छ ।
जंगल र बिकट क्षेत्रमा बसोबास गर्दै आएका यो समूदायमा ६ महिना गिठ्ठा भ्याकुरमै जिविकोपार्जन गर्नु पर्ने बाध्यता छ ।
बर्षौदेखिको यो अनिकाललाई अहिलेको महामामारीले झनै बल्झाई दिएको छ । अभियान्ता केपी किरण शर्मा चेपाङ् समूदायको समस्यालाई स्थानीय सरकारले बुझ्न नसक्दा बर्षेनी भोकमरीको चपेटामा पर्ने गरेको बताउनुहुन्छ ।
त्यसो त चेपाङहरु आफैमा केही गर्न नसक्ने भने होइनन । तर लगातारको निषेधाज्ञा, कोरोना महामारी र वर्खा समय सुरु भएकाले दैनिक ज्यालामजदुरी गर्न पाएका छैनन् ।
आफूले उत्पादन गरेको सामानसमेत बेच्न नपाएपछि यस बर्ष उनीहरुलाई भोकमरीले बढीनै च्यापेको छ । त्यसैले पनि दुख गरेर हातमुख जोड्न धौ धौ परि रहेको यस बस्तिमा खाद्यान्न सहयोग भई रहेको बताउनु हुन्छ हेल्प संस्थाका कृष्ण ढकाल ।
चेपाङहरुलाई पनि वर्षेनी भोकमरीको पीडा सुनाउँदै मनकारी मनहरुलाई मात्रै पर्खेर बस्ने इच्छा भने छैन् । त्यसैले सरकारले गाँस वाँस र विकासको टुँगो लगाउनै पर्नेमा उनीहरुले जोड दिएका छन् । तर, यहि उनीहरुको इच्छा भने अझै पुरा हुन सकेको छैन् । (भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्