४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


५ दिनअघि श्रीमती गुमाएका मिल्खा सिंहको काेभिडबाटै मृत्यु


0
Shares

एजेन्सी । भारतका चर्चित एथलिट मिल्खा सिंहको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।

संक्रमित ९१ वर्षीय सिंहको चण्डीगढस्थित एक अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ । अस्पताल भर्ना भएका उनमा शुक्रबार साँझ स्वास्थ्य समस्या जटिल भएको थियो । स्थानीय समयअनुसार राति साढे ११ बजे सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

२० मे मा कोभिड संक्रमण भएका सिंह स्वास्थ्यमा समस्या आएपछि ३ जुनमा अस्पताल भर्ना भएका थिए । १३ जुनसम्म आईसीयूमा राखेपछि उनको कोभिड रिपोर्ट नेगेटिभ आएको अस्पताललाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

कोभिड रिपोर्ट नेगेटिभ भए पनि स्वास्थ्यमा सुधार नआएपछि सिंहलाई आईसीयूबाट निकालिएको थिएन । पाँच दिन अघि मिल्खाकी श्रीमती निर्मल मिल्खा सिंहको निधन पनि कोभिड संक्रमणबाटै भएको थियो ।

फ्लाइङ सिख नामबाट चर्चित मिल्खा सिंह ४ सय मिटर दौडमा एसियाली र कमनवेल्थ खेलमा स्वर्णपदक जित्ने एकमात्र भारतीय हुन् । उनको जीवनीको विषयमा ‘भाग मिल्खा भाग’ नामक फिल्मसमेत बनेको छ ।