
काठमाडौं । नेपालमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार २४ घण्टामा २ हजार ४ सय १ जनामा संक्रमण देखिँदा ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् ।
२४ घण्टाभित्र ११ हजार ६ सय ९६ जनामा गरिएको परीक्षणमा करिब २० दशमलव २५ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो । काठमाडौ उपत्यकामा ३ सय ३७ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २ सय १, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना रहेका छन् । उपत्यकामा समेत संक्रमितको संख्यामा कमी आएको छ ।
यस्तै, सो अवधिमा थप ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ रहेको छ । जसमध्ये ५३ हजार ७ सय ३३ जना होम आइसोलेसनमा र ३ हजार ८ सय ८५ जना संस्थागत आइसोलेसनमा छन् । ती मध्ये ८ सय ७४ जना आइसीयू र २ सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्