
पर्वत । पहिरोले अबरुद्ध भएका मध्यपहाडी लोकमार्ग र मालढुंगा– बेनी सडक सुचारु भएका छन् ।
शनिबार बिहान पहिरोले पुरिएका दुवै सडक पहिरो पन्छाएपछि साँझ देखि सुचारु भएका हुन् । कुश्मा नगरपालिका १ सहस्रधारामा सडक माथिवाट पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो भने बेनी– मालढुङ्गा सडक खण्ड अन्तर्गत जलजला गाउँपालिकाका ३ ठाउँमा पहिरोले रोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बिहानै देखि रोकिएका दुवै सडक पहिरो पन्छाएर साँझ देखि सुचारु गरिएको जानकारी दिनुभयो । प्रहरीका अनुसार गएरातिको वर्षाले पहिरो झरेर सडक अवरुद्ध भएका थिए ।
सडक सुचारु भएसँगै रातिदेखि रोकिएका सवारीसाधान अहिले गन्तव्य तर्फ लागेका छन् । पहिरो पन्छाएर सडक खुलाए पनि पहिरोको जोखिम भने कायमै रहेको अधिकारीको भनाइ छ ।
पर्वतको सहस्रधारामा सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने समस्याले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड पटक पटक अवरुद्ध हुने गरेको छ । लगातारको झरीका कारण जिल्लाका अधिकांश ग्रामीण सडकहरू समेत अवरुद्ध बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्