१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भीरबाट लडेकी किशोरीलाई काठमाडौं लैजान चार दिनदेखि मौसम बाधक


0
Shares

बाजुरा । भीरबाट लडेर घाइते भएकी किशोरीलाई थप उपचारका लागि काठमाडौं लैजान सकिएको छैन । चार दिनदेखि काठमाडौं लैजान प्रयास गरिए पनि मौसमा सुधार नआउँदा उद्धा गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनुभयो ।

बुढिनन्दा नगरपालिका–१ की १६ वर्षीया ललिता गिरी घाँस काट्न जाँदा बुधबार साँझ भीरबाट लडेकी थिइन् । अर्धचेत अवस्थामा रहेकी उनको चार दिनदेखि अक्सिजनको सहायतामा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रले काठमाडौं लैजान रिफर गरेपनि हेलिकोप्टर जान नसक्दा उनको अवस्था झन् खराब बन्दै गएको छ ।

शनिबार दिउँसो २ बजे मनाङ्ग एयरको हेलिकप्टर कोल्टी एयरपोर्ट पुगे पनि प्रतिकुल मौसमका कारण हेलिकोप्टर उड्न नसकेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । किशोरीको उद्धारका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेलिकोप्टर पठाएको हो ।

बिहीबारदेखि हेलिकोप्टरका लागि पहल भए पनि प्रतिकुल मौसममा कारण हेलिकप्टर उड्न नसकेको आफन्त ढकराज गिरीले बताउनुभयो । शुक्रबार नेपाली सेनाको हेलिकप्टर सदरमुकाम मार्तडीमा उद्धारका लागि पुुगे पनि कोल्टी जान सकेन ।

किशोरीको टाउको, घाँटी र ढाडमा गम्भीर चोट लागेको स्वास्थ्यकर्मीले जनाएका छन् । उनको अक्सिजन लेभल घटेको छ भने अवस्था निकै जटिल बनेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. डिकेन्द्र सञ्ज्यालले बताउनुभयो । किशोरी स्थानीय चन्दनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् ।