
बैतडी । लगातारको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।
राजमार्गको बैतडीको साँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका ५ ढिकगाडमा पहिरो खस्दा अवरुद्ध बनेको हो ।
गएराती १ बजेदेखि राजमार्ग अवरुद्ध भएको त्यहाँबाट से १ ख १३३३ का साहुसमेत रहेका चालक धनेश जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सडकमाथिबाट पहिरो खसेको छ, राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।”
राजमार्ग अवरुद्ध हुँदा उक्त एम्बुलेन्स,मालवहाक सवारी साधन,अत्यावश्यक कामका लागि हिडेका यात्रुहरु अलपत्र परेका छन् ।
अवरुद्ध राजमार्ग जेसिबीको सहयताले खोल्ने प्रयास भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“गाउँपालिकाको जेसिबी लगेर जादैंछौं,लगातारको वर्षाले केही समस्या गर्ला जस्तो छ ।”
यसअघि शनिबार अपरान्ह सुर्नया गाउँपालिका ३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकोमा बेलुका सञ्चालनमा ल्याइएको थियो ।
केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध भइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्