
डोलराज रानाभाट
चितवन । मौरी महका लागि मात्रै त हो नि भन्ने धेरैलाई लाग्छ । तर चितवन रत्ननगर ६ बछौलीका किसानहरुले भने मह सहित महजन्य उत्पादन र मौरीको वहुउपयोगमा जोड दिँदै राम्रो आम्दानी गर्दै आइरहनुभएको छ । नेपाल एपीकल्चर सेन्टरका हेम सुवेदीको १ सय २० घार मौरी छन् । मोरी पालनको सम्भावना धेरै रहेको र बजार समेत राम्रो भएको बताउने सुवेदी वार्षिक ८ लाख भन्दा बढी आम्दानी गर्ने योजनामा हुनुहुन्छ ।
युनिक इको हाउस सौराहाका इश्वरी प्रसाद ढकालले मौरीको थेरापी र त्यसैको धुनमा योगा गर्ने ठाउँ बनाएर आधुनिकता दिनुभएको छ। मह मात्रै विक्रि गरेर लगानी नउठ्ने बताउँदै विविधकरणमा जानुपर्ने सौच ल्याएको ढकालको भनाई छ । तल मौरी घार माथि सुत्ने वेड, मह पनि हुने थेरापी पनि ढकाल भन्नुहुन्छ ।
त्यस्तै माली मौरी उत्पादन केन्द्रका गोकर्ण खनाल ३२ घारमा मौरी पाल्नुहुन्छ । नजिक रहनुभएका साथीहरुको प्रेरणा र सल्लाहले ३२ घारमा मौरी पाल्न उहाँलाई हौस्यायो । तर वेमौसममा मौरी जोगाई राख्न भने कठिन हुने गरेको छ । मंसिरदेखि जेठ सम्म मौरीको मह लिने उत्तम समय हो । तोरीको फूल, चिउरी आदी महको मुख्य स्रोत पनि ।
अन्य किसानको मेहनत र प्रतिफल देखेर नयाँ किसानपनि यसमा आकर्षित छन् । सौराहा नजिकै रहेकाले पर्यटकहरुलाई समेत आकर्षण गर्न सक्ने र मह उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने हिम्मत छ किसानहरुसँग । चितवनमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लगायतका कार्यक्रम जारी छन ।
तर मौरीको पकेट क्षेत्रनै संचालनको क्षमता राखेको बताउने किसानहरु समक्ष उक्त कार्यक्रम पुग्न सकेको छैन । केही घार मात्रै दिएर भन्दा पनि पकेट क्षेत्र सचालन गरी सरकारको सहयोग, अनुदान बढाइ आफूहरुको मेहनत र योजनालाई साथ दिन किसानहरुको आग्रह छ । त्यो भएमा मह र महजन्य उत्पादनमा देशलाई आत्मनिर्भरतर्फ अग्रसर गराउने किसानहरुको अठोट छ ।
प्रतिक्रिया दिनुहोस्