
सुरेन्द्र भण्डारी
झापा । मकै खेतीबाट आत्मर्निभर बन्न सकिन्छ भन्ने उदाहरण झापाको बाह्रदशी गाउँपालिकाले देखाएको छ । उत्पादन बढ्न थालेपछि अन्य बाली मासेर मकै खेती गर्न हौसिएका यहाँका किसानका लागि गाउँपालिकाले प्राविधिकसहितको अनुदान उपलब्ध गराएको छ ।
मकै खेतीका लागि नमूनाको रुपमा रहेको झापाको बाह्रदशी गाउँपालिकामा यो बर्ष पनि मकै उत्पादन बढ्ने देखिएको छ । यहाँका अधिकांश कृषकले उन्नत जातको मकै खेती गर्दै आएका छन् ।
कृषकलाई कृषि पेशामा आत्मनिर्भर बनाउने योजना अगाडि सारेको यो गाउँपालिकाले मल, बीऊदेखि कृषि यन्त्र नै सहयोग गरेपछि यहाँका अधिकांश कृषक व्यवसायिक मकै खेती तर्फ आर्कषित भएका हुन् ।
गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि मात्र १ करोड १५ लाख रुपैयाँ र सशर्त अनुदानको ६३ लाख १५ हजार रुपैयाँ यस कार्यक्रममा खर्च गरेको छ ।
सञ्चालित कार्यक्रम मध्ये केही समूहगत छन् भने केही व्यक्ति लक्षित कार्यक्रम छन् । जसमा अधिकांश कार्यक्रम सतप्रतिशत अनुदानका रहेका छन् । गाउँपालिकाले कृषकका लागि तरकारीको बीऊदेखि कृषि औजारसम्म कृषकलाई बितरण गरेपछि यहाँका कृषक व्यवसायीक मकैखेतीमा लागेको गाउँपालिकाकी कृषि शाखा प्रमुख आर्जु खड्काले बताउनुभयो ।
व्यवसायिक मकै खेती गर्दे आएका वाह्रदशी गाउँपालिकाका वलराम राजवंशीले चार विगाह क्षेत्रफलमा मकै खेती गरेकाछन् । तरकारी खेती गर्दे गर्दे आएका उनी पछिल्लो समय मकैखेतीमा आकर्षित भएका हुन् ।
मकैको उत्पादकत्व बढाउन वाह्रदशी गाउँपालिकाले कृषक लक्षित कार्यक्रम सञ्चालन गरेपछि यहाँका कृषक अहिले उत्साहित देखिएका छन् ।
सिमित श्रोत र साधनका वावाजुत पनि यहाँका कृषक पछिल्लो समय व्यवसायिक खेतीमा आर्कषित भईरहदा विदेशबाट फर्किएका अधिकाशं युवासमेत व्यवसायिक कृषि पेशामा लागेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनुभयो ।
झापामा धान पछि सबै भन्दा बढी क्षेत्रफल मकै खेतीले ओगटेको छ । जिल्लाको कुल खेतीयोग्य जमिनको ९८ हजार हेक्टर क्षेत्रफल मध्ये ३१ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हँँुदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ । मकै उत्पादनका दृष्टिकोणले नमूनाको रुपमा रहेको यस गाउँपालिकाले कृषकलाई प्राविधिक ज्ञान प्रदान गर्दै वजारको समेत सुनिश्चितता गर्न सके यहाँका कृषकहरु अझ लाभान्वित हुने थिए । (हेर्नुहोस् भिडियो)
प्रतिक्रिया दिनुहोस्