
खिलनाथ ताजपुरिया
काठमाडौं । नेकपा एमालेले कर्णालीका चार सांसद्लाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्ध भ्याकेटको निवेदन दर्ता गराएपछि माधव नेपाल पक्ष सशंकित भएको छ ।
प्रदेश सरकारले विश्वासको मत लिने क्रममा पार्टी ह्वीप विपरित फ्लोर क्रस गरेका कर्णालीका चार सांसदलाई महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने भन्ने सर्वोच्चको आदेश विरुद्ध एमाले संस्थापन भ्याकेटको निवेदन लिएर सर्वोच्च गएपछि एमाले रडाको थप बढ्ने आशंका गरिएको छ ।
दोस्रो पुस्ताका नेताहरूले एकता प्रयास अघि बढाइरहेको बेला ओली पक्षले एकाएक अर्को कदम चालेपछि एकताको प्रयास सार्थक नबन्ने हो कि भन्ने आशंका बढेको हो । अध्यक्ष ओली नै नेपाल–खनाल पक्षलाई कमजोर बनाउने र सो समूहका नेता तान्ने राण्नीतिमा लागेकाले एमाले एकता कठिन बनेको राजनीतिशास्त्रका प्राध्यापक रमेश श्रेष्ठ देख्नुहुन्छ ।
‘नेपाल पक्षका चार–पाँज चना नेताहरूलाई खेलाइरहन पाए, पार्टी फुटिहाले पनि अपजश माधवकुमार नेपाललाई जाओस् भन्ने ओलीको भित्र मनसाय रहेको बुझिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘फुटेपछि त आफ्नो हिसाबले पार्टी चलाउने ओलीको रणनीति भइहाल्यो ।’
ओलीले आफ्नो अडान नछोड्ने र नेपाल–खनाल खेमा पनि उधारोमा सम्झौता नगर्ने अडानमा रहँदा एमालेहरू मिलेर जाने सम्भावना नदेखिएको श्रेष्ठको बुझाइ छ । ‘यदि पार्टी नै मिलाउने हो भने केपी ओलीले मौखिक रूपमा अल्झाइराख्नु हुँदैन थियो,’ उहाँ भन्नुहुन्छ, ‘ओली पक्ष मानसिक रूपमा पार्टी एक ढिक्का होस् भन्ने चाहँदैन ।’
जति–जति समय लम्बिँदै जान्छ उति एमाले एकता कठीन हुने सम्भावना बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्