
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ४५ अर्ब २७ करोड ७२ लाख रुपैयाँ रकमान्तर गरेको छ । यो संघीय सरकारका मन्त्रालय मातहतमा ११ महिनामा गरिएको रकमान्तर भएको मन्त्रालयकले जनाएको छ ।
यो आँकडामा स्थानीय तह र प्रदेश सरकारको रकमान्तर समावेश नभएको मन्त्रालयले जनाएको छ । यो वर्ष धेरै रकम स्वास्थ्यमा रकमान्तर गरिएको छ । विषेशगरी कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारले स्वास्थ्य क्षेत्रमा अधिक रकमान्तर गरेको हो ।
दोस्रो चरणको कोभिड रोकथामका लागि सरकारले सिधै देशका विभिन्न अस्पतालहरुको खातामा रकम पठाएको थियो । चालु वर्षको बजेटले पनि सबैभन्दा धेरै प्राथमिकता स्वास्थ्यलाई दिएको छ । झन्डै ९८ अर्ब रुपैयाँ स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरिएको थियो ।
विभिन्न विकास आयोजनामा खर्च हुन नसकेको रकम पनि रकमान्तर गरिएको छ । गत वर्ष पनि बजेटको करबि ४ प्रतिशत रकमान्तर भएको थियो । प्रत्येक वर्ष बजेटमा कार्यक्रम तथा योजनालाई शिर्षक नै तोकेर बजेट विनियोजन गरिएको हुन्छ ।
तर यी शिर्षकका धेरै कार्यक्रमहरु सञ्चालन हुन नसक्दा यस्ता रकमहरु अर्को शिर्षकमा लैजाने गरिन्छ । मन्त्री तथा पूर्वमन्त्रीहरुले मात्र १० अर्बभन्दा बढी थप बजेट रकमान्तर गरी लगेका छन् ।
यसैबीच सरकारले मन्त्रालयका सचिवले नै २५ प्रतिशतसम्म रकमान्तर गर्न सक्ने अधिकार दिइएको छ । अब यसलाई कानुनी रुपमै सुनिश्चित गर्न आवश्यक कानुन परिमार्जन गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्