२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


बन्दिपुरको बजेट विपदमुखी


0
Shares

उपेन्द्र खनाल

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका पनि बजेटको तयारीमा जुटेको छ । बन्दीपुरले यस बर्ष भने कोरोना महामारी नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

तनहुँको बन्दीपुर आगामी असार १० गते प्रस्तुत गर्ने बजेटको तयारीमा जुटेको छ । बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा जनप्रतिनिधि र कर्मचारीलाई यतिखेर बजेटको चटारो छ ।

गाउँपालिकाले यस बर्ष करीब ३२ करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । केन्द्र सरकारबाट कम बजेट आएकाले यस बर्ष पर्याप्त बजेट विनियोजन हुन सक्ने सम्भावना कम रहेको गाँउपालिकाले जनाएको छ ।

गौरवका योजनालाई निरन्तरता दिने, कोरोना महामारी नियन्त्रण, विपद तथा राहत कार्यक्रमलाई प्राथामिकता राख्ने गाउँपालिकाको तयारी छ । पहिलो प्राथमिकतामा अधुरो कामहरु पूरा गर्ने गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताउनुभयो ।

बिपद र कोरोना महामारीले आतंकित बनाएको हुँदा स्वास्थ्य क्षेत्र गाउँपालिकाको दोस्रो प्राथमिकतामा परेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको यो अन्तिम वर्षको बजेट भएकाले पनि विगतका वर्षको तुलनामा फरक किसिमको बजेट आउन सक्ने आँकलन स्थानीयले गरेका छन् । तर यो पटक पनि विगतकै जस्तै बजेट प्रस्तुत हुँदैछ ।

बन्दीपुर अस्पताललाई ५० बेडको बनाउने योजना पनि गाउँपालिकाको छ । त्यस्तै कृषिलाई आत्मनिर्भरता उन्मुख गराईने प्रमुख प्रसासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।

पुर्वाधार, पर्यटन विकास, नगदे वाली र बाख्रा पालनका लागि यस बर्ष पकेट क्षेत्र घोषणा समेत हुनेछ । विगतका बजेट झैं यो पटक पनि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाक्षेत्रले नै प्राथमिकता पाएपनि बजेटको कार्यान्वय फितलो हुने स्थानीयको गुनासो छ ।