१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटन विरुद्धका रिटमाथि आजबाट नियमित सुनुवाई, रिट निवेदकलाई बहसका लाग १५ घण्टाको समय


0
Shares

काठमाडौं । संसद विघटन विरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाई हुँदैछ ।

प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ जना सांसदले दिएको रिटमाथि आज सुनुवाई हुन लागेको हो ।

पहिलोे दिनको सुनुवाइमा देउवा पक्षबाट तीन जना वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव तथा दुई जना अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गर्नुहुनेछ ।

नेपाल बार एसोसिएसनका पूर्व महासचिव समेत रहनुभएका अधिवक्ता खातीले २० मिनेट बहस गर्ने र त्यसपछि अधिवक्ता बन्दी र वरिष्ठ अधिवक्ता यादवले ४०–४० मिनेट बहस गर्ने सर्वोच्च अदालत प्रशासनले जारी गरेको सुचनामा जनाइएको छ ।

त्यस्तै, वरिष्ठ अधिवक्ता कार्कीलाई एक घन्टा र थापालाई डेढ घन्टा समय छुट्याइएकोछ । सुनुवाइको दोस्रो दिन भोली वरिष्ठ अधिवक्ता हरिहर दाहाल र रमण श्रेष्ठले एक–एक घन्टा बोल्नु हुनेछ ।

सर्वोच्च अदालतले नै रिट निवेदक पक्षलाई सुरूमा १२ घन्टा र पछि जवाफी बहसका लागि ३ घन्टा गरी १५ घन्टा समय व्यवस्थापन गरिदिएको थियो ।

संवैधानिक इजलासले संसद विघटन गर्नुको लिखित कारण पेश गर्न प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई आदेश दिएपछि सुनुवाई एक साताको लागि रोकिएको थियो ।

अहिले सबै पक्षबाट लिखित जवाफ आईसकेको र नेपाल बार तथा सर्वोच्च बारबाट दुई दुई जना एमिकस क्युरी पनि खटाईसेकेको अवस्थामा सुनुवाई सुरु हुन लागेको हो ।