
काठमाडौं । ललितपुर महानगरपालिकाले आज ७७ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ ।
महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने निर्णय गरेको हो ।
महानगरले ७७ वर्ष माथिका दुई हजार २ सय २० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो । खोप आज बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ । ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकले लगनखेल (पशु सेवा केन्द्र, पशु अस्पताल)मा गएर खोप लगाउनुपर्नेछ ।
त्यस्तै, वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका (पाटन हाइस्कुल)मा, वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्रांगणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्ने बताइएको छ ।
त्यसैगरि, २६ र २७ वडाका नागरिकले सुनाकोठी (बालकुमारी स्कुल)मा, वडा नम्बर २१ र २२ का नागरिकले कार्यविनायक स्कुलमा, वडा नम्बर २८ र २९ का नागरिकले हरिसिद्धि स्वास्थ्य चौकीमा र वडा नम्बर १८ र १५ का नागरिकले सैंबु स्वास्थ्य चौकीमा गएर कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा खोप लगाउनुपर्ने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाणेश अर्यालले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्