२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा प्रदेश १ सरकारको दैनिक खर्च बढ्यो


0
Shares

विराटनगर । प्रदेश –१ सरकारले दैनिक खर्च बढाउन थालेको छ । नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा सरकारले खर्च बढाउन थालेको हो । बजेट खर्चको प्रगति भने उत्साहजनक छैन ।

चालु आर्थिक वर्षको ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ बराबरको बजेटमा प्रदेश सरकारले विकासतर्फ २२ अर्ब ६९ करोड ६३ लाख विनियोजन गरेको थियो ।

जेठ मसान्तसम्म ९ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ र लक्ष्यको ४३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । प्रदेश सरकारले जेठ १ यता खर्चको चाप बढाएको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेश सरकारले जेठ १५ यता दैनिक ३ करोड ६२ लाख ८० हजार रुपैयाँका दरले पुँजीगततर्फ खर्च गरेको जनाएको छ । अघिल्ला महिना न्युन अंकको खर्च रहेको प्रदेश सरकारले चालू आर्थिक वर्षको वैशाखमा मात्र पुँजीगततर्फ १८ करोड ४६ लाख ८७ हजार रुपैयाँ खर्चेको थियो ।

तर त्यसपछिका दिनमा खर्चको अनुपात ह्वात्तै बढेको देखिन्छ । त्यसैगरी चालुतर्फ यस अवधिसम्म कुल खर्च ८ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ छ । वैशाखमा मात्र १ अर्ब २९ करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।

प्रदेशको अर्थतन्त्रमा प्रभाव पार्ने, पुँजी निर्माण गर्ने, गरिवी न्यूनीकरणमा सहयोग पु¥याउने र रोजगारी सिर्जना गर्ने क्षेत्रको बजेट खर्च भने बढ्न सकेको छैन ।

आर्थिक वर्षको अन्त्यतिर हतारमा विकासका काम गर्ने प्रवृत्ति अन्त्य गर्न प्रदेश सरकारले गएको आर्थिक वर्षमै बजेट खर्चको कार्यतालिका तयार गरे पनि तालिका अनुसार काम भने भएको देखिँदैन ।

सरकारको कार्यविधिमा फागुन मसान्तपछि कुनै पनि आयोजनाको सम्झौता नगर्ने व्यवस्था भए पनि यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।