२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


हल्दिबारी गाउँपालिकाले ल्यायो ‘द्वार एक सेवा अनेक’ को अवधारणा


0
Shares

सुरेन्द्र भण्डारी
झापा । झापाका स्थानीय तहमा सर्वसाधरणको काममा ढिलासुस्ति भएको गुनासो बढेपछि हल्दिबारी गाउँपालिकाले भने ‘द्वार एक सेवा अनेक’ को अवधारणा अगाडि ल्याएको छ ।

सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरेर नमूना गाउँपालिका घोषणा गर्ने गाउँपालिकाको उद्देश्य रहेको छ । छिटो र छरितो रुपमा सेवाग्राहीको काम सम्पन्न गर्ने गरी गाउँपालिकाबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन हल्दिवारी गाउँपालिका जुटेको छ ।

जसका लागि गाउँपालिकाले ‘द्वार एक सेवा अनेक’ को अवधारणा अघि सार्दै सोही अनुसारको चुस्त दुरुस्त संरचना तयार गरीएको छ । स्थानीय तह सञ्चालनको चार वर्ष बितिसक्दा समेत यो गाउँपालिका भाडाकै घरको भरमा छ ।

साँघुरो घरबाट सेवाग्राहीलाई सेवा दिन कठिन भएपछि स्थानीय दाताले भवन निर्माणका लागि जमिन उपलब्ध गराएपछि हल्दिवारी गाउँपालिकाले ‘द्वार एक सेवा अनेक’ को अवधारणामा सेवाग्राहीलाई सेवा प्रवाह गर्ने गरी भवन निर्माणको काम अघि बढाएको अध्यक्ष रबिन्द्र लिङ्देनले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित धनुष पोखरी नजिकै तीन करोड ९० लाख ७९ हजार रुपैयाको लागतमा भवन निर्माण भइरहेकाे छ । नेपालकै होचो भू–भाग केचना नजिकै धनुष पोखरी महाभारतकालीन इतिहासंग जोडिएको छ । पूरातात्विक र ऐतिहासिक महत्वको पोखरीको रुपमा लिइने धनुष पोखरीका नामबाट गाउँपालिकाको भवनलाई समेत धनुष आकारमा मोडिएको स्थानीय राम बान्तवाको भनाई छ ।

ऐतिहासिकतालाई समेत मध्यजनर गर्दै गाउँपालिकाले भवन निर्माण गर्ने भएपछि स्थानीय दाताहरु देउकुमार लिम्बू, सन्तोष मेयाङ्वो, तीलप्रसाद सुवेदी लगायतले गाउँपालिकालाई निःशुल्क जग्गा उपलब्ध गराएको बताइन्छ । विकासका दृष्टिकोणले समेत पछि परेको यो ठाउँमा गाउँपालिकाको भवन निर्माण सम्पन्न भएसंगै यहाँका सेवाग्राहीले सहजै सेवा लिन सक्ने र यस ठाउँको समेत विकास हुने अपेक्षा हल्दिवारी वासीको रहेको छ ।

स्थानीय तह सञ्चालनको चार वर्ष भाडाकै घरबाट सेवाग्राहीलाई सेवा प्रवाह गरेको यो गाउँपालिकाले अहिले भने ‘द्वार एक सेवा अनेक’ को अवधारणामा अघि सार्नु आफैंमा सकारात्मक कामको सुरुवातको रुपमा लिन सकिन्छ । स्थानीय बासिन्दासमेत आफूहरुले पाउने सेवामा ढिलासुस्ति नभई छिटोछरीतो सेवा पाउनेमा ढुक्क देखिन्छन् ।