१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


७७ वर्ष माथिका ज्येष्ठ नागरिकलाई ललितपुर महानगरले दियो कोभिसिल्डको दोस्रो डोज


0
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले ७७ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको छ ।

यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्ष माथिका महानगरका जेष्ठ नागरिकलाई बुधबार कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको हो । खोप कार्यक्रम बुधबार एकदिन मात्रै सञ्चालन हुने महानगरले जनाएको छ ।

महानगरपालिका भित्र विभिन्न ८ वटा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइएको हो । खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । सरकारले हुलमुलमा बस्नु नहुने बताएको भए पनि खोप केन्द्रमा भिडभाड बढी भएको र व्यवस्थित नभएको भन्दै जोगरत्न बज्राचार्यले असन्तुष्टि जनाउनुभयो ।

देवेन्द्र राज शर्माले खोपकेन्द्रमा वृद्धवृद्धालाई व्यवस्थित रूपले नराखिएको बताउनुभयो । उहाँले प्रत्येक वडाले आ–आफ्नो वडामा अथवा वडाले व्यवस्था गरको स्थानमा खोप लगाएको भए दुःख कम हुने बताउनुभयो । व्यवस्थित तरिकाले खोप केन्द्र सञ्चालन नभएको उहाँको टिप्पणी छ ।

कोभिशिल्ड खोपको दोस्रो मात्रा महानगरभित्रका करिब २४ सय जेष्ठ नागरिकलाई लगाइने महानगरपालिकाले जनाएको छ ।