१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सडक सञ्जाल टुटेपछि सुरक्षित डेलिभरीको चिन्तामा गर्भवती


26
Shares

दुर्गा आचार्य

सिन्धुपाल्चोक । मेलम्ची र भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जाल बिच्छेद भएका गाउँका गर्भवती महिला स्वास्थ्यसंस्थासँगको पहुँच टुटेकाले कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा परेका छन् । बाढिले पुल बगाउने र कटान गरी यातायातका साधन चल्न नसक्ने गरी सडक बिगारेकाले सडक सम्पर्क बिच्छेद भएका गाउँका महिला कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा परेका हुन् ।

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका केही वडा, हेलम्बु र इन्द्रावती गाउँपालिका तथा भोटेकोशी नदीको बाढिका कारण गएको पहिरोले भोटेकोशी गाउँपालिका सडक सम्पर्कबिहीन बनेका छन् । हेलम्बु गाउँपालिकाका केही महिलालाई हेलिकोप्टर मार्फत काठमाडौ लगिएपनि अझै धेरै गर्भवती महिला गाउँमै छन् ।

हेलम्बु गाउँपालिकाका स्वास्थ्य प्रमुख ज्ञानेन्द्र सिग्देलका अनुसार असारमै सुत्केरी हुने र सडक सञ्जाल र बर्थिङ सेन्टरमा समेत पहुँच नभएका १५ जना गर्भवती छन् । उनीहरुको सुरक्षित सुत्केरी गराउन गाउँपालिका कोसिस गरिरहेको छ । आइतबार मात्रै एक गर्भवतीले सुरक्षित रुपमा बच्चा जन्माएकी छिन् । ‘सोमबारलाई अर्को गर्भवतीको मिति पुगेको छ,’ प्रमुख सिग्देलले भने, ‘हामी नजिकबाट सबै गर्भवतीलाई सम्पर्क गरिरहेका छौं ।’ ‘सम्भव भएसम्म स्वास्थ्यकर्मीलाई सम्बन्धित ठाउँमै पठाएर सुरक्षित सुत्केरी गराउने हाम्रो प्रयास हुनेछ´, उनले भने, ‘यदि कोही गर्भवतीलाई गाह्रो भए तुरुन्त हेलिकोप्टरमा काठमाडौ पठाउने गाउँपालिकाको तयारी छ ।’

हेलिकोप्टरबाट काठमाडौ पु¥याइएकी मेलम्ची बाढीपीडित अर्चना ढुंगेल चिन्ताले सात रात निदाउन नसकेपछि अहिले अलि निर्धक्क भएकी छिन् । असार १ गते मेलम्ची खोलामा आएको बाढीले ठूलो जनधनको क्षति सँगै सडक र पुल बगाएर यातायातको साधन चल्न नसक्ने भएपछि आफ्नो पेटमा भएको ८ महिनाको बच्चालाई कसरी सुरक्षित जन्म दिने भन्ने चिन्ताले उनलाई सताएको छ । ‘आँखा झिमिक्क गरेको थिएन,’ उनले भनिन्, कहिले कति बेला के हुने हो भन्ने चिन्ताले सताएको थियो ।´ ‘मेलम्ची बाढीले पुलहरु बगायो, बाटो सबै बन्द छ, खोलाले घरमा बस्ने वातावरण पनि छैन, आफ्नो जिउ यस्तो छ,’ उनले भनिन्, कसरी यसलाई सुरक्षित जन्म दिने भन्ने कुराले मेरो निन्द्रा हराएको थियो ।´

‘सामान्य व्यथा लागे त यता स्वास्थ्य चौकी तिरपनि सुत्केरी गराउन सकिन्छ, धेरै र गाह्रो व्यथा लागे के गर्ने भनेर निदाउनै सकेकी थिइन,’ उनले भनिन् । आफ्नो उमेरको कारण पनि स्वास्थ्यकर्मीको निगरानीमै सुत्केरी गराउन पर्ने अवस्था भएको उनले बताइन् । जहाँ उनले सुत्केरी हुन जान्छु भनेकी थिइन्, ‘उक्त इचोक बर्थिङ सेन्टर पुग्न खोला तर्नुपर्दथ्यो । बाढीले पुल नै बगाएपछि उनको होस हवास उठेको हो ।’ स्वास्थ्यकर्मीले साउन १ गतेको मिति दिएपनि १०, १५ दिन अघि नै तपाइको डेलिभरि हुन्छ भनेका थिए । त्यसैले असार अन्तिम तिरै डेलिभरि हुन सक्ने उनको अनुमान छ ।

सिन्धुलीको रातामाटाबाट आएर उनी श्रीमानसँगैं हेलम्बुको तिम्बुमा बसेकी थिइन् । उनका श्रीमान् गोल्मादेवी माविमा २२ बर्षदेखि पढाउँछन् । साथमा श्रीमान् र अन्य तीन छोरी नभएका हैनन् । तर उनलाई आफ्नै जिउ देख्दा भने आतेश लागेको हो । यहाँ सबै राम्रै थियो पहिरोले दुख दिएपछि भने उनलाई सिन्धुलीको धेरै याद आयो । कहाँ आएर बसिएछ यहाँबाट कसरी उम्कने भन्ने चिन्ताले धेरै सताएको उनले बताइन् । काठमाडै आएपछि केही ढुक्क भएको उनले महशुस गरेकी छिन् ।

यस्तै हेलम्बुकी सरिता तामाङको पनि सुत्केरी हुने मिति नजिकिएको छ । उनलाई घरखेतको चिन्ता त छदैछ अर्को तिर आफ्नो आउनेवाला सन्तान के कसरी यो धर्तीमा आउला भन्ने चिन्ताले थप सताएको छ । दिउँसै व्यथा लागे त तत्काल हेलिकप्टर बोलाउन हुन्थ्यो, तर राति झमझम पानी परेको कुहिरो लागेको बेला व्यथा लागे के गर्ने भन्ने डरले उनलाई सताउँछ । सुत्केरीका लागि बर्थिङ सेन्टरमा जाने उनको योजना थियो । तर त्यहाँ जाने पुल भत्किएपछि उनी पनि थप चिन्तामा परेकी हुन् । उनको तिम्बुमा रहेको घर छेउमै खोला आइसक्यो । १,२ दिनमा पानी परिरहे बस्ने बासपनि बाढीले बगाउने चिन्ताले उनलाई निन्द्रै पर्दैन् ।

जीवनको सबै दुख गरेर बनाएको घर बाढीले बगाउने भयो भनेर उनी खुब आतिन्छिन् । तर उनको दुख बाढीले के पो सुन्थ्यो र ? प्रकृतिको लिला अपरम्पार छ । उ आफ्नै मर्जीमा हिडिरहन्छ । तर सरिता भने रातदिन भगवान पुकारिरहेकी छिन् आफ्नो टाउको लुकाउने घर बचाइदिन । उनी छोरी, घर र श्रीमानसँग हासीखुसी बसेकी थिइन् । तर असार १ बाट भने बाढीबाट पीडित उनी स्कुलको छात्रावासमा बस्न बाध्य छिन् । राति सारा धर्ती नै धर्काउँदै बाढी आउँदा उनलाई घर लग्यो कि भन्ने पनि चिन्ता लाग्छ , तर अहिलेसम्म केही भएको छैन् ।

मेलम्ची बाढीमा आएको पहिरोका कारण त्यस क्षेत्रका गर्भवतीलाई समस्या भएको छ । पुल र सडकहरु बगाएकाले सडकमार्गले हेलम्बु छुन सकेको छैन् । पक्की पुल नै बगाएपछि यातायात सञ्चालन कहिलेसम्म हुन्छ भन्ने कुनै ठेगान छैन् त्यसैले पनि यहाँका गर्भवती र उनका परिवार आतिएका हुन् । हेलिकप्टरको व्यवस्था गर्ने तयारीमा गाउँपालिका छ । यसअघि पनि सडक सञ्जालको सहज पहुँच नभएका ठाउँबाट गम्भीर प्रकृतिका गर्भवती तथा सुत्केरीलाई गाउँपालिकाले उद्धार गरेको थियो ।

मेलम्ची बाढिले पाँचपोखरी गाउँपालिका जोड्ने इन्द्रावती नदिको पुल बगाएपछि सिंगो गाउँपालिका सडक सञ्जालबाट बाहिरिएको छ । बैकल्पिक मार्ग नभएकाले गाउँपालिकाका गर्भवती महिलालाई सुरक्षित सुत्केरी गराउन सुविधा सम्पन्न अस्पताल पु¥याउनुपरेमा हेलिकोप्टरको बिकल्प नभएको स्थानीयले बताएका छन् । मेलम्ची पुल बगाएपछि मेलम्ची नगरपालिकाका दुई तथा इन्द्रावती गाउँपालिकाका केही वडा पनि यही समस्यामा परेका मेलम्ची–१० का वडा अध्यक्ष भक्तबहादुर खड्काले बताए ।

यता, भोटेकोसी गाउँपालिकामा पनि तातोपानी क्षेत्र वरपर सडक सञ्जाल टुटेको छ । लिपिङ खोलाको पुलको एकापट्टि पहिरो जाँदा र ठाउँ ठाउँमा सडक भासिएपछि शुक्रबारबाटै उक्त क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन् । यातायात सञ्चालन हुन नसकेका कारण केही गर्भवतीहरुलाई समस्या भएको गाउँपालिका अध्यक्ष राज कुमार पौडेलले बताए । ‘तातोपानीमा बर्थिङ सेन्टर त छ त्यहाँ सुरक्षित सुत्केरी गराउन सम्भव नभए हेलिकप्टरको विकल्प छैन्,’ उनले भने । वर्षा सुरु भएसँगैं गएको पहिरोले सिन्धुपाल्चोकका धेरै ठाउँ सडक सञ्जालबाट टुटेका छन् । सडक सञ्जाल टुटेपछि मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङ्पाल, इन्द्रावती तथा भोटेकोशीका गर्भवती र गम्भीर प्रकृतिका बिरामीहरुलाई समयमै अस्पताल पुर्याउन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाइले बताए ।