
काठमाडौं । विश्वकप लिग–टूअन्तर्गत स्पेनमा हुने तय भएको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित भएको छ ।
आउँदो साउन ५ बाट सुरु भएर साउन १५ गते सकिने भनिएको क्रिकेट श्रृंखला कोरोना महामारीका कारण सन् २०२२ को जुलाइसम्मका लागि स्थगित भएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नामिबियामा कोरोना भाइरसको संक्रमणका कारण खेलाडीहरूको अभ्यास र यातायातमा असर परेको भन्दै प्रतियोगिता स्थगित गरेको गरेको हो ।
नामिबियाले यात्रा प्रतिबन्धमा कडाइ गरेको र संक्रमण फैलिएको भन्दै तयारी गर्न समस्या भएकोबारे आईसिसीलाई जानकारी गराएको थियो । बुधबार मात्रै नामिबियाका चारजना खेलाडी र केही अफिसियललाई कोरोना पोजेटिभ देखिएको थियो ।
नेपालले प्रतियोगिताका लागि शुक्रबार २० सदस्य टोली घोषणा गरि मंगलबारबाट बन्द प्रशिक्षण थालेको थियो । एकदिवसीय विश्वकप २०२३ छनोट अन्तर्गत विश्वकप लिग–टूमा सात देश र विश्वकप सुपर लिगमा १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि १३ देशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्