१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालोपत्रे गरेको दुई दिनमा सडक हिलाम्मे, पैदल हिड्नसमेत सकस


0
Shares

बागलुङ । बागलुङ बजारमा गरिएको कालोपत्रे सडक दुई दिनमै हिलोमा परिणत भएको छ ।

बजार क्षेत्रको नाली सही रूपमा व्यवस्थापन नहुँदा भलसहित आएको लेदोले कालोपत्रे सडक दुई दिनमै हिलाम्मे बनाएको हो । बजारमाथिको मध्यपहाडी लोकमार्गबाट आएको भेलसहितको लेदोले दुई दिन कालोपत्रे गरेको सडक पूरै हिलाम्मे बनाइदिएको हो ।

बागलुङ बजारको गोदामचोक, सिर्जनाचोक लगायतका स्थानहरूमा नगरपालिकाले कालोपत्रे गरिरहेको छ । गोदाम चोकमा दुई हप्ता अघि कालोपत्रे गरिएको थियो भने सिर्जनाचोकमा दुई दिन अघि मात्रै अलकत्रा बिच्छ्याइएको थियो ।

नगरपालिकाले लोकमार्गबाट आउने भल र बजार क्षेत्रका नाली व्यवस्थित नगर्न नसक्दा कालोपत्रे सडक हिलोमा परिणत भएको स्थानीयको गुनासो छ ।

कालोपत्रे सडक हिलाम्मे हुँदा पैदलयात्रा गर्नसमेत सकस भएको छ । ठूलो वर्षा हुँदा हलनचोक, सिर्जनाचोक, गोदामचोक लगायतका स्थानमा नाली थुनिएर घरभित्रसमेत पानी पस्ने गरेको स्थानीयले बताएका छन् ।