१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले विकल्पमा ध्यान नदिँदा १४ लाख ज्येष्ठ नागरिककाे दोस्रो डोज खोप अनिश्चित


0
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । कोरोना भाइरसलाई नियन्त्रण गराउने प्रमुख उपाय खोप नै हो । खोप लगाउने व्यक्तिको संख्या बढाउन सके भाइरस पनि नियन्त्रण हुने विज्ञले बताउँदै आएका छन् ।

संक्रमण नियन्त्रणको मुख्य आधार खोप भएको सन्दर्भमा धेरै देशहरूले खोप अभियानमा जोड दिइरहेका छन् । तर, नेपालमा भने पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकहरूले दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

खोप खरिदमा सरकार असफल बन्दा पहिलो डोज खोप लगाएका १४ लाख बढी ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउने समय अझै अन्योल छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पहिलो डोज खोप लगाएका ६५ वर्ष माथिका नागरिकलाई असार पहिलो साता खोप लगाउने बताउनुभएको थियो ।

पहिलो डोज खोप लगाएकाले १२ देखि १६ हप्ताको बीचमा खोप लगाउनुपर्छ । फागुनमा पहिलो डोज लगाएकाहरूले अहिलेसम्म दोस्रो डोज पाएका छैनन् । जेठको १५ गते भित्र दोस्रो डोज खोप लगाइसक्नुपर्ने भए पनि ज्येष्ठ नागरिकले दोस्रो डोज खोप असारको पहिलो साता वितिसक्दासमेत पाएका छैनन् । स्वास्थ्य मन्त्रालयले भने सधैँ खोप छिट्टै आउने तयारी जवाफ दिइरहन्छ ।

१८ लाख ४ सय ८४ जनालाई कोभिसिल्ड र ७ लाख २७ हजार ६ सय ४३ जनालाई भेरोसेल गरी कुल २५ लाख ५६ हजार १ सय २९ जनाले पहिलो डोज खोप लगाएका छन् । जसमध्ये ७ लाख ४५ हजार ६ सय ७० जनाले मात्र दोस्रो डोज खोप लगाएका छन् । अर्थात, १८ लाख १० हजार ४ सय ५९ जना दोस्रो डोज खोप लगाउन बाँकी छन् । तीमध्ये पनि १४ लाख ज्येष्ठ नागरिक छन् ।

पहिलो डोज लगाएकाले दोस्रो डोज खोप लगाउन नपाए खोपले दिने रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने विज्ञहरू बताउँछन् । खोप ल्याउन सरकारले पहल गरिरहेको जनाए पनि ठोस कदम चालेको देखिँदैन । खोप खरिद नहुँदा ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित बन्ने देखिएको छ ।

विश्वभर अभाव भए पनि सरकारले खरिदका विकल्पहरूतर्फ ध्यान नदिँदा खोप आउन नसकेको स्वास्थ्य मन्त्रालयकै पदाधिकारीहरू बताउँछन् । कोभिसिल्डबाहेक अन्य खोप खरिदमा सरकारले पहल नगर्दा सबै नागरिकले खोप त पाउँदैनन नै, पहिलो डोज खोप लगाएका १८ लाखले पनि दोस्रो डोज नपाउने अवस्था सिर्जना हुने देखिन्छ ।