१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड, सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

नगरसभाको नवौं अधिवेशनमा बिहीबार उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा प्रशासनिक खर्चतर्फ तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकासतर्फ ५५ करोड, सामाजिक विकासतर्फ दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रमा एक अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

यस्तै महानगरबासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क व्यहोर्न गरी बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७६/७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट दिने प्रस्ताव पनि गरिएको छ । कोभिड –१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट दिने प्रस्ताव आर्थिक विधेयकमा गरिएको छ ।

यसैगरी, बहाल करमा १० प्रतिशत वा पच्चीस हजार रुपैंयासम्म छुट दिने पनि घोषणा गरिएको छ । सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई स्वास्थ्यलगायतका सेवा सुविधाहरू पनि बजेटमा समावेश गरिएको छ ।

यस्तै ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीहरुका लागि सहयोग, मानवअधिकार प्रवर्द्धन, लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवर्द्धन, उद्यमशिलता प्रवर्द्धन, विद्युतीय शासनको प्रवर्द्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूद विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको छ ।