१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट, किसानलाई दुधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान


0
Shares

चितवन । चितवनको भरतपुर महानरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५हजारको बजेट सार्वजनिक गरेको छ ।

वीपी कोइराला क्यान्सर अस्पतालको सभाहलमा भएको नवौँ नगरसभामा बजेट सार्वजनिक गरिएको हो । नगर उपप्रमुख पार्वती शाह ठकुरीले सार्वजनिक गरेको बजेटमा आन्तरिक आय १ अर्ब २० करोड, अन्तर सहकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार आयको अनुमान गरिएको छ ।

यस्तै, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, बैंक मौज्दातबाट १ अर्ब, मर्मत सम्भार कोषबाट ३ करोड, सडक बोर्डबाट ३ करोड र जिल्ला समन्वय समितिबाट ३ करोड आय अनुमानसहित बजेट ल्याइएको महानगरले जनाएको छ ।

महानगरमा रहेका २९ वटा वडालाई प्रति वडा १ करोड ७० लाखका दरले विनियोजन गरिएको छ । महागनरले शिक्षामा १२ करोड ५० लाख, स्वास्थ्यमा ९ करोड र कोभिड–१९ को नियन्त्रणका लागि १ करोड ९० लाखको कोष स्थापना गर्ने भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरवासीलाई कोभिड–१९ को संक्रमणबाट बचाउन सबै पहल गर्दै आएको बताउनुभयो । उहाँले आगामी वर्ष महामारीबाट बचाउँदै विकास निार्मणको कामलाई प्राथमिकता दिने जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा महानगरभित्र साना ठूला ५ सय १० किलोमिटर सडक कालोपत्रे भएको र करिव ४ सय ५० किलोमिटर सडक ग्राबेल गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ९ वटा वडा कार्यालय निर्माण सम्पन्न भएको र ६ वटा वडा कार्यालयको तला थपिएको छ भने ५ वटा वडा कार्यालयहहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको दाहालले बताउनुभयो ।

महानगरलाई डिजिटलाइज गराउँदै लैजाने र प्रदूषण कम गराउन हरेक शुक्रबार साइकल चढ्नुपर्ने अभियान सञ्चालन गर्ने मेयर दाहालको योजना छ । ‘एक घर एक धारा’को नीति अवलम्वन गर्ने, एक वडा एक नमूना विद्यालय कार्यान्वनयमा ल्याइने, विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूलाई कोरोना विरुद्धको खोपको प्रबन्ध गर्ने महानगरले जनाएको छ ।

किसानहरूलाई एक लिटर दुधमा दिँदै आएको १ रुपैयाँको अनुदान बढाएर ३ रुपैयाँ पुर्याइएको छ । विषदीमुक्त भरतपुर र पशु बीमा प्रिमियममा दिइँदै आएको १२ दशमलव ५ प्रतिशत अनुदानलाई महानगरले निरन्तरता दिएको छ ।