१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन


0
Shares

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीलाई निःशुल्क पुस्तक उपलब्ध गराउन निर्देशन दिएको छ ।

विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वापतको रकम स्थानीय तहलाई निकासा गरिसकेको अवस्थामा स्थानीय तहबाट रकम निकासा माग गरी विद्यालयले सरकारले तोकेको पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउन केन्द्रले निर्देशन दिएको हो ।

केन्द्रले महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले गर्नुभएको परिपत्रमा सबै स्थानीय तह र विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन र जनक शिक्षा सामग्री केन्द्र तथा स्वीकृत निजी मुद्रक तथा प्रकाशकबाट छपाइ भएका पाठ्यपुस्तक प्रयोग गर्न निर्देशन दिइएको छ ।

कतिपय स्थानीय तह र केही विद्यालयले नेपाल सरकारले निर्धारण गरेका पाठ्यपुस्तकको सट्टामा अभिभावकहरूसँग थप शुल्क लिई निजी प्रकाशनबाट प्रकाशित पाठ्यसामग्री प्रयोग गर्न लगाइएको जानकारी प्राप्त भएपछि निर्देशन जारी गर्नुपरेको महानिर्देशक अर्यालले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन भएको पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।