१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कामका खोजीमा नवलपरासीमा भारतीय मजदुरको ओइरो, कोरोना संक्रमण बढ्ने खतरा


13
Shares

हरि शर्मा
पश्चिम नवलपरासी । नवलपरासीका किसानहरुलाई अहिले रोपाईको चटार छ । यही चटारोमा भारतीय मजदुरहरु पनि खेतमा कामको खोजी गर्दै नवलपरासी भित्रिने क्रम बढेको छ । सीमा नाकाबाट आएका भारतीय मजदुरका कारण जिल्लामा निषेधाज्ञा नै नभएको भान हुन थालेको छ ।

भारतसँग सीमाना जोडिएका नाकाबाट आउ–जाउमा रोक लगाइएपनि पश्चिम नवलपरासीका विभिन्न नाकाबाट खेत रोप्नकैलागि भारतीय मजदुरहरु आई रहेका छन् ।

जिल्ला प्रशासनले असार १४ गतेसम्मका लागि निषेधाज्ञा लगाएको छ । तर, भारतको बिहार र उत्तर प्रदेशका विभिन्न ठाउँबाट खेत रोप्न आएका मजदुरहरु निर्वाध रुपमा कामको खोजी गर्दे नवलपरासी छिरी रहेकाछन् ।

स–साना बालबालिकासहित बोकेर आएका भारतीय मजदुरहरुको संख्या झन्डै २ हजार भन्दा बढी छ । कोहीले काम पाएका छन् भने अधिकांशले काम पाउन सकेका छैनन् । काम नपाएका मजदुरहरु बजार क्षेत्रका सडक पेटीमा पुगेर कामको प्रतिक्षामा छन् ।

हरेक वर्ष खेत रोप्ने कामको खोजीमा यसरी नै भारतीय मजदुरहरु जिल्ला भित्रिने गरेका छन् । भारतमा भन्दा नेपालमा ज्याला बढी पाइने भएकाले यसवर्ष पनि उनीहरु त्रिवेणी र महेशपुर नाकाबाट जिल्ला भित्रिएका हुन् ।

खेत रोपाइएको समयमा मजदुर नपाइने र भारतीय मजदुरहरुले बढी काम गर्ने भएकाले नेपाली किसानका लागि भारतीय मजदुरहरु रोजाइमा पर्ने गरेका हुन् ।

भारतीय मजदुरहरुलाई दैनिक ३ सयदेखि साढे ३ सय भारतीय रुपैयाँ ज्याला दिने गरिएको छ । यसरी खेतमा काम गर्नेे मजदुर र किसानबीच ज्यालासंगै दुई छाक खाना दिनु पर्ने शर्त राखिएको हुन्छ । तर शर्त अनुसार रकम दिने नगरेको मजदुरहरुको गुनासो छ ।

नेपाल भित्रिएका भारतीय मजदुरहरुका बारेमा भने जिल्ला प्रशासन कार्यालय मौन छ । ठूलो संख्यामा लुकिछिपी आएका भारतीय मजदुरहरुलाई एन्टिजेन परीक्षण गरेर काम गर्न दिने वा घरतर्फ फर्काउने बारे छलफल भइरहेको प्रशासनको भनाई छ ।

जिल्लामा कोरोना संक्रमणको अवस्थामा केही सुधार भइरहेका बेला दिनहुँजसो हुलका हुँल बाँधेर आएका भारतीय मजदुरका कारण कोरोना संक्रमणको जोखिमलाई बढाएको छ । सीमा नाकामा नाम मात्रको कडाईले गर्दा समस्या बल्झीने देखिन्छ । (भिडियो हेर्नुहोस्)