
तेजप्रसाद लामिछाने डा शशांक कोईराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधि यी तीनै जना बिपि, गणेशमान र निधिका कान्छा सुपुत्रहरु हुन् । आखाको मेडिकल डाक्टर शशांक कोइराला २०६४ सालपछि पार्टीको सक्रिय राजनितीमा आएका हुन् । नवलपरासी १ बाट लगातार निर्वाचित जनप्रतिनिधि कोइराला अहिले पार्टीको महामन्त्रीमा आसिन छन् । निष्ठावान नेता महेन्द्रनारायण निधि पुत्र बिमलेन्द्र निधिलाई बिपि कोइरालाले २०३६ सालमा नेविसंघको अध्यक्ष बनाएका थिए । नेतृत्वको अकर्मण्यताले गर्दा काङ्ग्रेस पार्टी संगठन अहिले लथालिङ्ग अवस्थामा छ । गएको चुनावमा पार्टी लज्जास्पद पराजित भएपछि डिप्रेसनमा गएका काङ्ग्रेसीहरु अझै फ्रेस हुन सकेका छैनन् । ०७६ फागुनमा हुनुपर्ने नियमित अधिवेशनलाई भोगको राजनितीमा रमाउन खोज्ने पार्टी नेतृत्वको कारण १८ महिना पछाडी धकेलिएको छ । भदौमा हुने भनिएको आसन्न महाधिवेशनलाई छलेर चोर बाटोबाट पार्टीलाई नवीकरण गर्न खोजेको व्यापक चर्चा छ । नेतृत्वको यो रणनीति सफल भयो भने राप्रपा, जनमोर्चा , नेमकिपा भन्दा माथी उठन सक्ने छैन नेपाली काङ्ग्रेस । अहिले पार्टी नेतृत्वप्रति कार्यकर्ताको निराशा र काङ्ग्रेसप्रति मतदाताको घट्दो आकर्षण छ । पार्टीको भविष्यलाई चिन्ता लिएर नेता पुत्र एक ठाउँमा हुन खोज्दा कसैले अन्यथा नलिदा हुन्छ । गुटका नाइकेको टाउको दुखाई भयो होला , आम कार्यकर्तामा यी तीन जनाको सामीप्यताले उत्साह ल्याएकै छ । आसन्न १४औं महाधिवेशन नजिकिदै गर्दा नेपाली काङ्ग्रेसमा अगामी नेतृत्वको लागी प्रतिस्पर्धी बढ्दै गएका छन् । आफ्ना गुटका नेताहरुको उपस्तिथिमा शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने घोषणा गरे। रामचन्द्र पौडेल पनि १३औं महाधिवेशनको गुटले निरंतरता पाएको जिकिर गर्दैछन् । डा.शेखर कोईराला दुई बर्ष अघि देखि नै आफुलाई सभापति पदको उम्मेदवारी घोषणासंगै देश दौडाहामा छन् । पौडेल टिमका वरिष्ठ नेता पूर्व निर्वाचित महामन्त्री प्रकाशमान सिंह १४औ महाधिवेशनका निम्ति आफुलाई सभापति पदको स्वाभाविक उम्मेदवार मान्छन् । देउवा गुटका वरिस्ठ नेता पार्टी उपसभापति बिमलेन्द्र निधि आसन्न महाधिवेशनमा सभापति पदको निर्बिकल्प उम्मेदवार हुन् । गएको अधिबेशनमा देउवालाई सभापति पद छोडेको । यस पटक देउवाले आफुलाई सहयोग गर्नुपर्ने बताउँछन् नेता निधि । अघिल्लो सहमति अनुरुप आफुलाई सभापतिमा प्रस्ताव ल्याउनुको साटो देउवाले उल्टै फेरि एकपल्ट सभापतिमा सहयोग गर्न भनेपछि निधि अहिले रुष्ट छन् । महामन्त्री डा. कोइराला, बौद्धिक नेता अर्जुननरसिंह केसी, गिरिजा पुत्री सुजाता कोईराला पनि सभापति पदका आकांक्षी उम्मेदवार हुन् । गगन , प्रदिप र उमाकान्तलाई साथ लिएर गुटका नाइके बनेका कृष्ण सिटौला यस पल्ट उनको गुट के हुन्छ ? उनी कसलाई साथ दिन्छन् थाहा छैन । नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी हो । नेतृत्वको लागी प्रतिस्पर्धा हुनु स्वाभाविक पनि हो । नेताहरूले पार्टीभित्र आफ्नो जनमत र लोकप्रियता बुझ्न् मनोनयन पूर्व उम्मेदवारी घोषणा गर्नुलाई अन्यथा नलिनु नै ठिक होला । हैसियत र योग्यता अनुरुप नै पार्टीमा जिम्मेवारी पाउने हो । देउवा नेतृत्व सरकारले गराएको चुनावमा स्थानीय, प्रदेश र संघमा काङ्ग्रेस नराम्रोसंग हार्यो । पार्टी पराजितबाट कार्यकर्ताहरु पुरै डिप्रेसनमा गए । पार्टी भित्रका प्रतिपक्षी पौडेल र सिटौला टिम नेतृत्वको कार्यशैली पनि पार्टी हितमा नभएको व्यापक गुनासो छ । आसन्न महाधिवेशन अन्यौल हुनुमा मुल नेतृत्वसंगै उनीहरु पनि कम दोषी छैनन् । देउवा नेतृत्व प्रतिपक्षी दलले संसदमा सत्तापक्षको हैसियत देखायो । राजदुत, अख्तियार, लोकसेवा आयोगको नियुक्तिमा भाग माग्यो । भ्रष्टाचारको बिरोधमा चुईक्क बोलेन । सत्ताको साझेदारी दल जस्तो देखियो काङ्ग्रेस । नेकपा सरकारको कार्यशैली मन नपराएका मतदाताहरुले काङ्ग्रेस नेतृत्वको ब्यवहारबाट पनि दिक्क छन् । आगामी आमचुनाव आफ्नो अनुकुल बनाउन पनि काङ्ग्रेसले यो अधिवेशनबाट नेतृत्व परिवर्तन गर्नै पर्छ । देउवाको बिकल्पमा नयाँ नेतृत्व ल्याउन र काङ्ग्रेसको आगामी मुल नेतृत्वमा एकताको सन्देश दिन जरुरी छ । निधि निवासमा नेता त्रयको भेटघाटले आमकार्यकर्ताहरुमा छुट्टै किसिमको तरङ्ग ,उत्साह थपेको छ । अब केही हुन्छ कि भन्ने आशामा । अलग अलग बिशेषता बोकेका आआफनै कर्म र आकर्षण बनाएका सिंह , निधि र कोइरालाको पार्टी भित्र छुट्टै पहिचान छ । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई कु गर्दा प्रकाशमान सिंह उनी ५ बर्षका थिए । बुबा आमा जेलमा थिए। आफ्नो घरमा बस्न पाएनन् । डेरा सर्दै सर्दै दुख साथ अध्ययन गर्दै गए । ०३६ सालको जनमतसंग्रह ताका नेता सिंह २४ बर्षका थिए । युवा पङतिको नेतृत्व गर्दै बाल पेन्टिङ गर्ने , पोष्टर झुन्डाउने , सभामा कुर्सी, सोफा मिलाउने काम गर्थे। र्याली जुलुसको नेतृत्व गरे । ३५ बर्षको उमेरमा २०४७ सालमा काठमाडौ जिल्ला सभापतिमा निर्वाचित भएर पार्टी संगठनमा काम गरे । २०५७ सालको १०औ महाधिवेशनबाट ४५ बर्षको उमेरमा केन्द्रिय सदस्यमा निर्वाचित भए । १२औ महाधिवेशनमा निर्वाचित पदाधिकारी मध्ये सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए । ५५ बर्षको उमेरमा महामन्त्री बनेका नेता सिंहको कार्यकाल प्रसंशा गर्न लायक रह्यो । अहिले ६५ बर्ष उमेरका पुर्व महामन्त्री नेता सिंह पार्टी सभापतिको स्वाभाविक उम्मेदवार हुन् । नेता सिंहको कार्यदक्षताबाट सभापति सुशील कोइराला ज्यादै प्रभावित थिए । सुदृढ पार्टी संगठन र सरकार सञ्चालनमा प्रकाशमान सिंहको खुलेर प्रशंसा गर्न रुचाउँथे उनी । १३औ महाधिवशनमा देउवा ईतर टिममा प्रकाशमानले महामन्त्रीमा डा शशांकको नाम प्रस्ताव गरे । सभापति उम्मेदवारमा डा कोइरालाले नेता सिंहको नाम प्रस्ताव गर्न सकेनन् । कसको घेरामा परे थाहा भएन । वरिष्ठताका कारण प्रकाशमानले सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव ल्याए । अन्तिमसम्म भरपुर सहयोग गरे । धेरैले साथ छोडे , टिम कमजोर भयो । पौडेलले चुनाब हारे । वीपी पुत्र कोईराला शालिन छन् । मुसुक्क हास्ने, आँखामा हाले नबिझाउने, टाउको हल्लाउने यो उनको बिशेषता हो । उनको महामन्त्री कार्यकाल चर्चा गर्न लायक रहेन । पार्टी सभापतिको अतिवाद र मनपरि तन्त्रलाई रोक्न सकेनन् । दलको नेतामा देउवालाई साथ दिएका महामन्त्री कोइरालाले संसदमा प्रतिपक्षी भुमिका प्रभावकारी बनाउन पनि सकेनन् । पार्टी भित्र सबैको प्रिय बन्न खोज्दा को ठिक, को गलत, को असल, छुट्टाउनै सकेनन् । उनको अनुहारमा बिपिको तस्बिर प्रतिबिम्बित छ यस कारण पनि उनी माथी आमकाङ्ग्रेस कार्यकर्ताको श्रद्धा छ । चिन्ता यहाँनेर छ राजिव गान्धी पुत्र राहुल नेतृत्व भारतीय राष्ट्रिय काङ्ग्रेस जस्तो नेपाली काङ्ग्रेस नहोस् । निधि पुत्र बिमलेन्द्र पटक पटक लाभका रहे पनि आलोचित र आरोपित हुने गरि बदनाम भएका छैनन् । सभापति देउवा जस्तो । सिलवाल र चन्दको आईजी काण्डमा उनी गृहमन्त्री थिए । जयबहादुर चन्दको पक्षमा देउवाले रडाको मच्चाउन खोज्दा प्रम देउवालाई रोक्न ठुलै प्रयास गरेका थिए । तर सकेनन् । आईजी काण्डमा देउवा बिवादमा फसे तर गृहमन्त्री निधि आलोचनाबाट बचे । सभापति निकट रहेका कारण उनी पार्टी संगठनमा उनका कमजोरी नभएका होइनन् । आफ्नो गुटको नेतालाई संरक्षण गर्न खोज्दा उनी बेला बेलामा आलोचित भएका छन् । आसन्न महाधिवेशन सुनिश्चितता गर्न अकर्मण्यता अहिलेको पार्टी नेतृत्वलाई बिस्थापित गर्न सबै एक ठाउँमा हुनुको विकल्प छैन । पार्टी हितको निम्ति देउवा इतर टिम बलियो बनाउन नेता पुत्रको भेटघाटले कार्याकर्ता र मतदाताहरुलाई राम्रै सन्देश दिएको छ । हैसियत, कार्यदक्षता, जनाधारको आधारमा नेतृत्वमा सहमति खोज्दा राम्रो होला । पदका आकांक्षीहरु आपसी सल्लाहमा आलो पालो, अघिपछि र पार्टी भित्रको जिम्मेवारी आपसमा बाडेर जानू नै सबैभन्दा उत्कृष्ट उपाय हुन सक्छ । यी ३ पुत्रको समीकरण बाहेक पार्टी बलियो बनाउन अरु पनी जोडिनै पर्छ । बौद्धिक र तार्किक वक्ता अर्जुननरसिंह केसी र डा शेखर कोइराला । गिरिजा पुत्री सुजाता कोईराला । निष्ठावान युवाहरूको समूहलाई पनि समावेश गराउनै पर्छ । देश दौडाहा चुनावी प्रचारका लागी । यसो हुन सक्यो भने आगामी चुनाव काङ्ग्रेसकै हितकरमा रहनेछ । |
प्रतिक्रिया दिनुहोस्