
काठमाडौं । वाग्मती, मेलम्चीसहित केही नदीमा पानीको बहाव बढेको छ । लगातार परेको वर्षाका कारण नदीमा बहाव बढेको हो ।
कोशी र यसका सहायक नदीमा पनि पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार पानी परेकाले कोशीसहित केही नदीमा जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसअघि परेको पानीले जमिन गलिसकेको र भूकम्पले क्षति पुर्याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
त्यस्तै, वाग्मतीसहित प्रदेश एक, प्रदेश दुई, गण्डकी र लुम्बिनीमा पानी परिरहेको छ । वाग्मती, प्रदेश एक / दुईमा बिहानदेखि नै लगातार पानी परेको छ । मनसुनी वायु सक्रिय रहेकाले पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्