
-संजिव कार्की
धेरैले अड्कलबाजी गरेका छन् । प्रधानमन्त्रीको यतिबेलाको सक्रियता, भेटघाट र सरसल्लाह निर्देशन, निर्णय इत्यादि सामान्य कर्म होइन । केही न केही नयाँपन, नयाँ घोषणा या आफ्नै राजीनामा समेत आउने रहस्य र खोजीनितीमा यतिबेला देश उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेको छ । सामान्य तर असमान्य लाग्ने घोषणा, परिवर्तन, हेरफेर र बदली हुने यथेस्ट संकेत र सूचना बिभिन्न निकायबाट चुहिएका छन ।
प्रधानमन्त्री कै विश्वास पात्र र ‘किचेन क्याबिनेट’का सुत्रहरु पनि अब के हुने हो भयंकर छटपटी र खुल्दुली लिएर बाँचेका छन, जरुर केही नयाँ हुँदैछ । कुनै आकस्मिक घटना, दुर्घटना र पार्टी नेताहरुको सम्बन्धमा नयाँ दरार पैदा भएन भने घोषणा र परिवर्तन गरेर देखाउने मनस्थितिमा प्रधानमन्त्री पुगेको कुरा धेरैले गम्भीरतापूर्वक हेरेको विषय हो । यसैबीच आफ्नो प्रेस सल्लाहाकार परिवर्तन गरेर सुर्य थापाको चयन ।
नेकपाका केन्द्रिय सदस्य एवं पार्टी प्रचार बिभाग उपप्रमुख सुर्य थापा झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार भै सकेका अनुभवी राजनीतिक नेता, कार्यकर्ता हुन । कुन्दन अर्याल झैँ पेशागत पत्रकार मात्रै होइनन । सुर्य थापाले प्रेस हेर्दा मात्रै पनि सरकारको प्रभावकारिता र विश्वसनीयता अरु बढ्ने विश्वास प्रधानमन्त्रीलाई रहेको छ । अर्को सकारात्मक पक्ष झलनाथ खनाल पनि प्रधानमन्त्रीसँग बिच्किने सम्भावना कम हुन्छ । आफुले चाहेको र भएको यथार्थ कुरा बाहिर ठिक ढंगले प्रवाहित गर्न कुन्दन अर्यालको टिम शशक्त हुन नसकेको, छोप्नु पर्ने छोप्न नसक्ने देखाउनु पर्ने देखाउन नसक्ने आरोपबाट कुन्दन लगायत आरोपित छन् । प्रधानमन्त्री असन्तुष्ट हुनुको कारण यथार्थ सुसुचित गर्न प्रधानमन्त्रीको घेराफेरामा रहने टोली चुक्यो र सार्वजनिक आलोचन बढ्यो । आफ्नो क्षमता देखाउन नसकेको आरोप प्राय सबैलाई लाग्यो । पार्टीका नेताहरुको आरोप र गुनासो हो । प्रधानमन्त्री सचिवालयको घेरामा परेको, पार्टी नेता र कार्यकर्ताको पहुँच भन्दा पर प्रधानमन्त्रीलाई राखिएको, सामान्य नेता कार्यकर्ताले भेट पाउन सचिवालयका सदस्यहरु रिझाउनु पर्ने नत्र अत्यावश्यक काम पर्दा पनि प्रधानमन्त्रीसँग भेट नपाइने, गुनासो र आक्रोश व्यापक थियो ।
प्रमुख राजनीतिक सल्लहाकार बिष्णु रिमाल पनि आलोचनाको केन्द्रमा परेका व्यक्ति हुन तर प्रधानमन्त्रीले उनलाई हटाउन चाहेनन् कारण आफ्नो व्यक्तिगत कमीकमजोरी थाहा पाउने अर्को व्यक्ति नहोस । स्मरण गर्नुपर्ने कुरा के छ भने प्राय विशिष्ट र लब्धप्रतिष्ठित व्यक्तिको कमीकमजोरी उनका सचिवालय सदस्य, किचेन क्याबिनेटका मान्छे, अंगरक्षक र चालक मार्फत सार्वजानिक हुने गरेको छ । यस्ता व्यक्ति फेरिंदा जनस्तरमा विशिष्ट व्यक्तिहरुको कमीकमजोरी व्यापक रुपमा जान्छ र सार्वजनिक छवि धुमिल देखिन्छ । व्यक्तिगत कमीकमजोरी बाहिर नजाओस् थाहा हुने भए पनि सिमित मान्छेमा मात्रै रहोस भनेर विश्वास पात्र सारथीहरू परिवर्तन जटिल र जोखिमको विषय बन्छ । निवर्तमान पदाधिकारीहरु प्रधानमन्त्री पदको गरिमा बढाउन हैन मान मर्दन गर्न चैंं लागेको भान प्रधानमन्त्री र पार्टी नेताहरुमा पर्न गयो ।सल्लाहकार विज्ञ टोली लगायत सबैमा आलोचनाको तीर यति सोझियो कि प्रधानमन्त्री नै दैनिक सार्वजनिक रुपमा आएका प्रतिक्रियाले आजित बने । स्मरणीय के छ भने प्रधानमन्त्री राती एक दुई घण्टा सबै, संचार माध्यम, अनलाइनहरुको आफै अध्ययन गर्ने गर्छन । बाहिरी प्रेसमा आफ्ना बारे , सरकारका बारे के कस्ता सकारात्मक नकारात्मक प्रतियाक्रिया र तरंग उठेका छन ।
मन्त्रीहरुका आचरण ब्यबहार र प्रश्तुति सम्मको सुक्ष्म अध्ययन उनको नृत्य कर्म भित्र पर्छ । नेता विशेष रुची क्रियाकलाप र गतिविधिको निगरानी गर्न समेत आफ्ना विश्वासपात्र कार्यकर्ताहरु मार्फत सुराकी गराउन प्रधानमन्त्री खप्पिस छन भनेर नेकपाका उपल्लो स्तरका नेताहरु नै बेलाबखतमा भन्ने गर्छन । उनलाई सल्लाहकारहरुले, सचिवालयका सदस्यहरुले हत्तपत ब्रिफिंङ गर्नु पर्दैन र गलत ब्रिफिंङ आफैं बुझ्न सक्षम छन् । तसर्थ पनि प्रेस हेर्ने जिम्वेवारी पाएकाहरुको कमजोरी ओली आफैंंले रेकर्ड गर्न सके । यहि मेसोमा चित्त बुझ्दो काम नगर्नेहरुलाई राजीनामा दिन सुझाए । फलस्वरूप सचिवालयका दुई मुख्य हस्ती प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विदेश मामला प्रमुख राजन भट्टराईलाई कायम राखेर अरुलाई बिदाई दिन तयार भए ।
आफ्नो स्वास्थ्यको कारण एकपटक आफैं राजीनामाको मूडमा प्रधानमन्त्री रहेको समेत भित्रियाहरू बीच चर्चा थियो । तर अब आकस्मिक रुपमा प्रधानमन्त्रीको राजीनामा आउने संकेत चै बाँकी रहेन । तेस्रो पटक डायलासीस पछि आफ्नो पुनः मृगौला प्रत्यारोपण नभएसम्म आफूलाई प्रधानमन्त्री मै कायम राखेर प्रधानमन्त्री देशमा सरकारको परिवर्तनको सन्देस दिन चाहन्छन । चाहेका छन ।
आफ्नो व्यक्तिगत आलोचना भए पनि सरकारको डेलीभरिमा असर नपरोस पार्टी र सरकारमा सन्तुलन कायम रहोस भन्नको खातिर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई कार्यवाहक दिने अनि पुष्पकमल दाहाल प्रचन्डलाई पार्टी हेर्ने जिम्वेवारी दिन मन्जुर छन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग सम्बन्ध सुधारेर भूल स्वीकार गर्दै आगामी दिनमा मिलेर जाने प्रतिवद्दता व्यक्त गरिसके । प्रचण्डसँग बारम्बार भेट, अरु पार्टी नेताहरुसँग पनि आवश्यकता अनुसार बाक्लै भेट र छलफल दुई पटक मृगौला डायलसिस पछिको सक्रियता र क्रियाशीलता हो ।
यसबीच अर्को गोप्यता भनेर बाहिर चर्चा भएको कुरा पनि जोड्नु सान्दर्भिक छ । प्रधानमन्त्री आफ्नो मृगौला प्रत्यारोपण सफल भएमा केही समय प्रधानमन्त्री बनेर आफ्नो पुर्व प्रतिवद्दता अनुसार प्रचन्डलाई प्रधानमन्त्री बनाएर आफू विश्राम गर्ने र पार्टीमा माधव नेपाल, झलनाथ खनाल र प्रचण्डहरुलाई समन्वय गरेर बस्ने भित्री चाहना त्रय नेताहरुका सामु राखेको कारण नै तमाम असमझदारीका बीच नेकपा नेताहरुमा एकताको सन्देस आएको कुरा बुझिन्छ ।
मृगौला प्रत्यारोपणमा करिब दुई महिना देखि पाँच महिनाको अबधि लाग्ने सम्भावना रहेकोले त्यो समय आफ्ना लागि अनुकुल बनाई दिन नेताहरुसँग अनुनयविनय गरेका कारण पनि माधव नेपाल सहमतिमा आएको यथार्थ असत्य होइन । अन्तर्यमा जे भए पनि प्रधानमन्त्री अहिले देखिने काम गरेर आफ्नो छाप र प्रभाव कायमै राख्न लागिपरेका छन भनेर बुझ्न गाह्रो छैन । बिडम्बना नै भन्नुपर्छ हप्तामा तीन पटक डायालासिस गर्नुपर्ने प्रधानमन्त्री स्वस्थ र दुरुस्त छन भनेर बुझ्नु परेको छ । उनको शारीरिक अस्वस्थतालाई सामान्य भनेर ढाँटदै र मृगौला प्रत्यारोपणको तयारी भनेर जटिल स्वास्थ्य समस्या पनि एकै साथ देखिएको छ । विरोधाभाष पूर्ण कुराले जनताको आँखामा, दुनियाँको आँखामा छारो हालिएको छ ।
जे होस् प्रधानमन्त्रीको आत्मवल र सक्रियता समस्त बिरामी, मृगौला पिडितको लागि हौसला बुलन्द गर्ने र रोगीको आत्मविश्वास अभिवृद्धि गर्न सहयोगी सिद्द भएको छ । १२ वर्ष अघि फेरिएको मृगौला काम गर्नेस्थितिमा नहुदाँ, हप्ताको तीन चोटीसम्म डायलासिस गर्दा, पुनः अर्को पटक मृगौला प्रत्यारोपण गर्ने तयारी हुदाँ पनि यतिको रोगलाई सामान्य र हल्का अस्वस्थअवस्था मात्रै भनेर बुझ्नुपर्ने अचम्मको परिस्थिति छ । जसले जे भने पनि डाक्टर नै लगाएर ढाँटन लगाए पनि प्रधानमन्त्रीको स्वास्थ्य देश चलाउन योग्य छैन र मिर्गौला फेल भएको अवस्थालाई सामान्य बिरामी मान्न कोही तयार छैन । यही उदाहरण हेरेर भन्न सकिन्छ सत्ताको भाषा जनताको लागि हुँदैन सत्ताको लागि मात्रै हुन्छ । सत्ताको मोह र लोभबाट छुटकारा पाउने सजिलो रसायन हाम्रा नेताहरुको शरीरमा उत्पन्न हुँदैन । भएको छैन ।
प्रधानमन्त्री ओली आफ्नो सचिवालय र विज्ञ टोली, मन्त्रीमण्डल मार्फत आफ्नो स्वास्थ्य उपचार अबधिभर कुनै पनि अवस्थामा प्रधानमन्त्रीको अभाव नखटकियोस भन्न चाहन्छन । उनी आफ्नो सचिवालयको फेरबदल मात्रै होइन मन्त्रिपरिषदको पनि व्यापक हेरफेर र परिवर्तन उनको अभिस्ट हो । कर्मचारी सँग पनि प्रधानमन्त्री भने बमोजिम काम नभएकोले रुष्ट छन तर कर्मचारी चिढिन पुगे भने अहिले भए जति पनि काम नहुने देखेर कर्मचारी चिढाउने पक्षमा छैनन् ।
मन्त्री फेर्दा सन्तुलन र गुनासो ब्यबस्थापन गर्न नसकिने भय र त्राशले ग्रस्त छन र उपचुनावको मुखमा केही अनिस्ट होला कि भन्ने डर पनि छ । उपचुनावमा कथं पार्टीको स्थिति खस्क्यो भने आफ्नो लोकप्रियता गुम्ने भित्री डरले प्रधानमन्त्री ग्रस्त छन । यदि पार्टी प्रतिकुल रिजल्ट आयो भने आन्तरिक प्रतिस्पर्धामा रहेका नेताहरु ओलीको कमजोरीले यस्तो भयो भनेर उम्कन सक्नेछन । यसर्थ पनि उपचुनाव अघि मन्त्री परिषदमा फेरबदलको सम्भावना न्यून छ । तर अरु संबैधानिक आयोग, बिभिन्न नियुक्ति र मनोनयनमा नेताहरु भित्री रुपमा मिलीसकेका छन । सत्य निरुपण तथा मेलमिलाप आयोगमा शेरबहादुर देउवा समेतलाई मनाएर प्रधानमन्त्री सहज बनि सकेका छन् ।
आफ्नो जटिल स्वास्थ्य अवस्थाको संवेदनशीलता देखाएर पनि ओलीलाई बिपक्षी देउवा, आन्तरिक प्रतिस्पर्धी दाहाल, नेपाल, र खनाल सबैलाई मिलाउन र सरकार प्रमुख मै रहेर उपचार गराउन यो पटक अरु सहज भएको छ । अनुकूलता मिलेको छ । आफ्नो जटिल र गम्भीर स्वास्थ्यको कारण उत्पन्न एकता , राष्ट्रिय अस्मिता माथि मडारिएको कालो बादल इत्यादिको कारण पनि देश यतिबेला खासै विभक्त मनस्थितिमा छैन । यो अवधिलाई प्रधानमन्त्री ओलीले ब्यक्तिगत उपचार मात्रै होइन देशको उपचार गर्न पनि सोचून । उनी अस्पतालको शैयामा बस्दा देश दुखोस । देशको स्वास्थ्य अवस्था दुखोस । तर उनको शरीर नदुखोस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको यथेस्ट कामना । असामान्य स्वास्थ्य अवस्थामा पनि असामान्य सक्रियता र तदारुकताका लागि प्रधानमन्त्री स्तुत्य छन ।
प्रतिक्रिया दिनुहोस्