१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंका खोलामा पानीको सतह बढ्यो


0
Shares

काठमाडौं । मनसुनी वायुको प्रभावले शनिबार संघीय राजधानी काठमाडौं लगायत मुलुकका अधिकांश स्थानहरूमा वर्षा भएको छ ।

शुक्रबार साँझदेखि नै काठमाडौं लगायत मुलुकका कतिपय स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो । बर्षासँगै भक्तपुरको हनुमन्ते खोलासँगै मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।

त्यसैगरी, काठमाडौंको बागमती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोबी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाडौंका विभिन्न नदी र खोलाहरूको पानी बाहिरिने चोभार गल्छीमा पनि पानीको बहाव एकदमै बढेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश भुभागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सचेत हुन आव्हान पनि गरेको छ । विभागले शनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने ससाना नदी तथा जलाधारमा पानीको बहावमा बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आव्हान समेत गरेको छ ।

यसैबीच मध्यान्हपछि भने काठमाण्डौमा वर्षा हुने क्रम रोकिएको छ ।