१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालकाे मरुभूमिमा रेकर्ड ब्रेक वर्षा !


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । नेपालको मरुभूमि भनेर चिनिने मनाङ र मुस्ताङमा मनसुनको सुरुवाती महिनामै अहिलेसम्मकै रेकर्ड ब्रेक वर्षा भएको छ । रेकर्ड ब्रेक वर्षाले पानीको सहत मात्र बढेको छैन बाढीले समेत सताउन थालेको छ । मुस्ताङमा कम प्रभाव परे पनि मनाङमा मनसुनको प्रभाव पहाडी जिल्लामा जस्तै छ ।

विगतमा हिमाली भेगमा मनसुन केही हप्ता ढिला गरी पुग्ने गरेकोमा यस वर्ष पहिलो हप्तामै पुगेको हो । यस वर्ष प्रि–मनसुनमा १ सय ७२ प्रतिशत बढी पानी परेको थियो भने, मनसुननको सुरुवाती २ हप्तामै ६० प्रतिशतभन्दा बढी पानी परिसकेको मौसमविद् मञ्जु बासी बताउनुहुन्छ ।

मनाङमा धेरै घरमा माटोको छाना छ । अत्यधिक वर्षाले छानो चुहिन थालेको छ । गएको हिउँदमा मंसिर, पुसमा पर्नुपर्ने हिउँ माघको अन्त्यमा मात्रै परेको थियो भने वैशाखसम्मै रहने हिउँ फागुनमै पग्लिएको वातावरणविद् प्रा.डा. केदार रिजालकाे भनाइ छ । हिमाली भेगमा बाढीपहिरो अस्वाभाविक मानिन्छ । त्यहाँका बासिन्दाले पहिलो पटक बाढीको अनुभव गरिरहेको छन् ।

झन्डै ३५ सय मिटर उचाइमा रहेका मनाङका बस्तीमा झरी परेको छ । जलवायु परिवर्तनका कारण सबैभन्दा धेरै हिमाली देशहरु प्रभावित हुने अन्तर्राष्ट्रिय संघ संस्थाले गरेको अनुसन्धानको निचोड सही सावित हुँदैछ । वातावरणीय सन्तुलन विगार्ने गरी विकासको नाममा विश्वभर भइरहेका क्रियाकलापको मूल्य नेपाल जस्ता हिमाली मुलुकले चुकाउन परेको वातावरणविद् डा. रिजाल बताउनुहुन्छ ।

यस वर्ष तराई क्षेत्रभन्दा पहिला हिमाली भू–भागमा मनसुनको प्रभाव छिटो देखियो । जारी सिजनमा मनसुनको ट्रेन्ड परिवर्तन भएको छ । पृथ्वीको तापक्रम ०.०६ प्रतिशतले वृद्धि भइरहेको छ । त्यसकै असरस्वरूप हिमरेखाको उचाइ बढ्दै गएको छ । हिमनदी पग्लने क्रममा वृद्धि र बरफ सञ्चयको मात्रा घट्दा हिमाली क्षेत्रमा मनसुनको प्रभाव अस्वभाविक रहेको विज्ञको भनाइ छ ।