१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सनको कार्यालय स्थापना


0
Shares

काठमाडौं । महत्वाकांक्षी योजनाको रूपमा अगाडि सारिएको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय रुपन्देहीको बुटवलमा स्थापना गरिएको छ ।

आयोजना कार्यालयको आज अर्थ र गृहसहित ५ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री विष्णु प्रसाद पौडेलले शुभारम्भ गर्नुभयो । कार्यालयको शुभारम्भ गर्दै मन्त्री पौडेलले यो आयोजना नेपालकै नमुना आयोजनाको रूपमा अगाडि बढाउने बताउनुभयो ।

कालीगण्डकी नदीलाई डाईभर्सन गरेर तिनाउ नदीमा मिसाएर रूपन्देही, कपिलवस्तु र नवलपरासीका जमिन सिँचाइ गर्ने उहाँको भनाइ छ । मन्त्री पौडेलले चाँडै नै आयोजना सञ्चालनका लागि डिपिआर निर्माणको काम सुरु गर्ने जानकारी दिनुभयो ।

पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरूङ हुँदै पाल्पाको तिनाउ–२, दोभानहुँदै तिनाउमा पानी खसालेर सिँचाइसँगै जलविद्युत उत्पादन गर्ने सरकारको योजना छ ।

कालीगण्डकीको तल्लो तटीय क्षेत्रका लागि सुख्खायाममासमेत पानीको कुनै कमि नहुनेगरी डाईभर्सन गरिने मन्त्री पौडेलको दाबी छ । आयोजनाको १ खर्ब ३८ अर्ब लागत अनुमान गरिएको छ ।

फरक प्रसङ्गमा मन्त्री पौडेलले ताजा जनादेशको विकल्प नरहेको भन्दै निर्वाचन अगाडि सबै नेपालीलाई खोप उपलब्ध गराउने वाचा गर्नुभयो । भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने उहाँको दाबी छ ।