२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ता जसरी काम गर्नुभयो– सभापति देउवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाउनुभएको छ ।

संघीय संसद भवन नयाँबानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक र सबैको साझा अभिभावकको रूपमा संविधानले र्निदृष्ट गरेको भूमिका निर्वाह नगरेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता जसरी काम गरेको दाबी गर्नुभयो ।

संसदको कुनै पनि सांसद्ले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था तोड्दै राष्ट्रपति भण्डारी ओलीको इसारामा चलेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रपतिले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेकाले आफुहरू संविधानको अन्तिम व्याख्याका लागि अदालत समक्ष पुग्न बाध्य भएको बताउनुभयो । उहाँले अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले प्रधानमन्त्री ओली अधिनायवादी भएको दाबी गर्नुभयो । अधिनायकवादी र सर्वसत्तावादी शैलीका ओलीले आफ्नै पार्टीका नेतालाई पनि बाँकी नराखेको देउवाको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओली न प्रजातन्त्रवादी हुन्, न त संविधानवादी हुन् । प्रधानमन्त्री ओली अधिनायकवादी हुन् । आफ्नै पार्टीकालाई त छाडेनन् अरुलाई के गन्थे ।’