
काठमाडौं । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो(इभेन्ट) कोभिड १९ का कारण प्रभावित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सञ्चालित परियोजनाको तालिम यस वर्ष कोरोनाका कारणले सुरु हुन नसकेको परियोजनाका निर्देशक चन्द्रकान्त भुषालले जानकारी दिनुभयो ।
कोरोनाका कारणले गतवर्ष पनि ढिलो गरी सुरु भएको थियो । भौतिक रूपमा दिनुपर्ने तालिमहरू भएकोले अवस्था सामान्य हुँदै गएपछि सुरु गरिने निर्देशक भुषालले जानकारी दिनुभयो । यस वर्ष टीएसएलसीमा भर्ना भएका पाँच हजार पाँच सय जना र प्राविधिक शिक्षाको डिप्लोमा अध्ययन गरिरहेका एक हजारलाई छात्रवृत्ति उपलब्ध गराइएको छ ।
पाँच वर्षको अवधिमा भौचरमा आधारित ६९ हजार पाँच सय युवालाई तालिम दिने लक्ष्य लिएकोमा हालसम्म ४३ हजार ८३३ जनाले तालिम पूरा गरेका छन् । परियोजना अन्तर्गत हाउस वायरिङ, वेल्डिङ, डकर्मी, सिलाईकटाई, ब्युटिपार्लर लगायत विभिन्न ४० किसिमका सीप सिकाउने गरिएको छ । टीएसएलसीका विद्यार्थीलाई जनही ५० हजार रुपियाँ र डिप्लोमाका विद्यार्थीलाई जनही डेढ लाख रुपियाँ उपलब्ध गराउने गरिएको छ ।
पहिलो वर्ष र दोस्रो वर्षमा रोजगारी दर सरदर ७५ प्रतिशत रहेको र कोभिड–१९ का कारण गत वर्षको रोजगारी दर मूल्याङ्कन हुन नसकेको निर्देशक भुषालले बताउनुभयो । परियोजनाले तीन महिनाको तालिम र त्यसपछि छ महिना रोजगारीको अवधि निर्धारण गरेको छ । परियोजनाले भौचरमा आधारित, नतिजामा आधारित लगायतका विभिन्न तालिम पाँच वर्षभित्र एक लाख १५ हजारलाई उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
विश्व बैंकको ६ अर्ब आर्थिक सहयोगमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको दोस्रो चरण सेप्टेम्बर २०१७ देखि १५ जुलाई २०२२ सम्म कार्यान्वयनमा रहेको छ । गुणस्तरीय तालिमको पहुँच बढाई सीपयुक्त र रोजगार उन्मुख जनशक्तिको आपूर्ति बढाउनु, नेपालमा प्राविधिक तथा व्यवसायीक शिक्षा एवं तालिम क्षेत्रको सेवा प्रवाहलाई सुदृढ बनाउने उद्धेश्यका साथ परियोजना सन्चालित छ ।
प्रतिक्रिया दिनुहोस्