१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मस्र्याङ्दीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार


0
Shares

काठमाडौं । मनाङ सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ । नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।

जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर पनि मस्र्याङ्दी नदीको बीचमा फसेको हो ।

नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको हो । पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो ।

पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ ।

नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ ।