२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


झापामा बाढीबाट जोगिन विशेष सतर्कता, नागरिक सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा


0
Shares

सुरेन्द्र भण्डारी

झापा । बाढीले बगाएर लैजाँदै गरेका मानिसको उद्धारका लागि गएको डुङ्गा पल्टिएको यो दृष्य हो । झापाको अर्जुनधारा नगरपालिकास्थित सालवारीका विपद्मा परेकाहरुको उद्धारका लागि गएको डुङ्गा पानीको वहावका कारण पल्टिएको भनिएपनि वास्तवमा यो डुङ्गालाई पल्टाइएको हो । प्रत्येक वर्ष झापाका नदी नालामा आउने बाढीले जन धनको ठूलो क्षति पु¥याउने भएपछि यो वर्ष प्राकृतिक विपद्बाट तत्कालै कसरी बच्न सकिन्छ भन्ने उदाहरण सहित नेपाली सेना, शसस्त्र प्रहरीबल र नेपाल प्रहरीका कर्मचारीले यहाँ नमूना बिपद् तथा उद्धार कार्य प्रदर्शन गरेका हुन् ।

झापा सहित पूर्वी तराईमा वर्षाको समयमा हुने डुवानबाट वर्षेनी धेरै मानिसको मृत्यू हुने गरेको छ भने कटानका कारण सयौ बिगाहा जमिन बगरमा परिणत हुँदै आएको छ । वर्षायाम शुर भएसंगै प्राकृतिक बिपत्तिबाट तत्कालै बच्नका लागि जिल्ला बिपद् ब्यवस्थापन समिति झापाले जिल्लाका १५ वटा स्थानीय तहको सहभागितामा अर्जुनधारा नगरपालिका ११ स्थित सालवारी झिलमा नमूना बिपद् तथा उद्धार कार्यक्रम प्रदर्शन गरिएको जिल्ला प्रशासन कार्यालय ,झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयाे ।

वर्षाका कारण निम्तिने विपद्बाट बच्न र सर्वसाधारणलाई सचेत गराउनका लागि नेपाली सेना, शसस्त्र प्रहरीबल र नेपाल प्रहरीका कर्मचारीले यहाँ नमूना बिपद् तथा उद्धार कार्य प्रदर्शन गरेका थिए । झापाका बिभिन्न बस्ती बाढीको उच्च जोखिममा रहेकाले सचेत गराउन र उद्धारको प्रकृया जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा घरेलु सामाग्रीको प्रयोगबाट कसरी नागरिकको ज्यान जोगाउन सकिन्छ भन्ने नमूना समेत प्रस्तुत गरियो ।

त्यसो त बाढीबाट बच्न र आफ्ना नागरिकलाई बचाउन स्थानीय पालिकाले समेत आ– आफ्नो क्षेत्रमा सक्दो प्रयास गरिरहेका छन् । नदी नियन्त्रणका लागि संघ र प्रदेशसंग समन्वय गर्दै खोला तथा नदीमा तटवन्ध निर्माण गर्ने काम आफूहरुले गर्दै आएको बाह्रदशी गाउँपालिका ५ का वडाध्यक्ष भुपेन्द्र कटुवालको भनाई छ ।

विशेष गरी झापाका कन्काई, बिरिङ, मेची, रतुवा , अन्धुवा, टाङ्टिङ, किस्ने लगायतका खोला तथा नदीमा आएको वाढीका कारण बर्षेनि नदी आसपासका बस्ती डुवानमा पर्दै आएका छन् भने वाढीकै कारण हरेक वर्ष धेरेले अकालमा ज्यान गुमाउँदै आएका छन् । वर्षेनि आउने बाढीबाट आम नागरिकलाई सुरक्षित राख्न बाढी पस्ने सम्भावित क्षेत्रको समयमा नै पहिचान गर्दै त्यस्तो ठाउँमा तटवन्ध र नदी आसपासका वस्तीमा नागरिकलाई विपद् व्यवस्थापनको तालिम सहित आवश्यक सामग्री प्रदान गर्न जरुरी देखिन्छ ।