२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ– गृहमन्त्री पौडेल


0
Shares

काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताउनुभएको छ ।

सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यूआर कोडसहित छपाइ गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिनुभयो । अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।

मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका लागि र यसको प्रतिष्ठालाई माथि उठाउनको निम्ति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन समेत दिनुभयो । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले क्यू.आर. कोड सहितको नेपाली कोडबाट सिधै छपाइ हरने भिसा प्रणालीको सुरुवात गरिएको बताउनुभयो । यसबाट विदेशी नागरिकहरूले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने बताउनुभयो ।

भट्टराईले विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यूआर कोडले यात्रा गर्ने मानिसको गोप्य सूचनाहरू स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य रहेको बताउनुयो । विद्युतिय भिसाको तयारी पूरा गरेको बताउँदै उहाँले विभागले प्रयोग गरेको नेपाली पोर्टल नामक सूचना प्रणालीलाई स्तरोन्नति गरिएको जानकारी दिनुभयो ।