१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिन्धुपाल्चोकका सिडियो र सुरक्षा निकाय प्रमुख तेम्बाथानमा फसे


0
Shares

चौतारा । खाद्यान्न सामग्री लिएर गएका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरू जुगल गाउँपालिका–३ तेम्बाथानमा फसेका छन् । सेनाको हेलिकप्टरमार्फत खाद्यान्न सामग्री लिएर गएको टोली मौसममा खराबी आएपछि उतै फसेका हुन् ।

केही समयअघि नेपन खोलाले झोलुङ्गे पुल बगाएपछि तेम्बाथानका १ सय ६५ परिवारमा खाद्यान्न संकट उत्पन्न भएको थियो । मौसममा केही सुधार भएपछि सोमबार हेलिकप्टरबाट जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले खाद्य सामग्री लिएर गएको हो ।

तेम्बाथान पुगेका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, एसपी राजन अधिकारी, कर्णेल निर्मल कुमार श्रेष्ठ, अनुसन्धान प्रमुख सरोज निरौला र पत्रकार निरोज चौलागाईं तेम्बाथानमा फसेको पत्रकार चौलागाईंले जानकारी दिनुभयो ।

हेलिकप्टर दुई पटक राहत लिएर तेम्बाथान पुगेको थियो । तेस्रो पटकमा तेम्बाथानमा खाद्य सामग्री पुर्याउने र जिल्लाका प्रमुखहरूलाई लिएर फर्कने योजना भए पनि मौसममा खराबी भएपछि हेलिकप्टरले उडान गर्न सकेको छैन ।

तेम्बाथामा मोटरबाटो पनि नभएकाले हेलिकप्टरबाट बाहेक अन्य माध्यमबाट आउजाउ गर्न सकिँदैन ।